काठमाडौं– आगामी फमगुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ। भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो।
भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडीहरु नेपाल ल्याइँदै छ।
यसअघि पहिलो खेपमा ६१ वटा गाडी ल्याइएको थियो। ती गाडीहरु माघ ६ गते नै भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी ५३८ थान गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ।
निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत गाडी माग गरेको थियो।
सबै गाडीहरु भारतीय दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृह मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने गरेको छ।
भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरुको प्रदर्शनको क्रममा प्रहरी कार्यालयहरुमा समेत आगजनी हुँदा भवन र सवारी साधनहरु नष्ट भएका थिए।
गृह मन्त्रालयले निर्वाचन तयारीबारे छलफल गर्दा धेरै जिल्लाबाट गाडीको माग आउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन्। ‘हामी निर्वाचनका लागि तयारीमै छौं । तर गाडी अभाव छ भनेर जिल्लाबाट माग भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने।
निर्वाचन प्रयोजनका लागि भारतको सहयोग स्वरुप प्राप्त गाडीहरु निर्वाचनपछि नेपाल सरकारले आवश्यकता अनुसार आफू अनुकूल प्रयोग गर्न पाउने छ।