मन्त्रिपरिषद विस्तार हुन अझै १०-१५ दिन लाग्न सक्छ : ओली - Chaitanya News
  • 2026-04-26
  • 10:16:30
  • आइतबार,बैशाख १३, २०८३
  • मन्त्रिपरिषद विस्तार हुन अझै १०-१५ दिन लाग्न सक्छ : ओली

    मन्त्रिपरिषद विस्तार हुन अझै १०-१५ दिन लाग्न सक्छ : ओली

    काठमाडौँ –  सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार हुन अझै १०–१५ दिन लाग्न सक्ने बताएका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे । उनले खेलाडीले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान दिउन् भन्ने चाहेको उल्लेख गर्दै उनीहरूको त्यो माग सरकार समक्ष पुर्‍याउन आफू लागि पर्ने आश्वासन दिए ।

    नयाँ खेलकुदमन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने तपाईहरूको गुनासोलाई म सरकार समक्ष पुर्‍याउँछु । अहिले त खेलकुदमन्त्री नै छैनन् । खेलकुदमन्त्री आउन १०–१५ दिन लाग्न पनि सक्छ ।’

    अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीले पनि आफूलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

    त्यस अवसरमा उनले यस एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाइ नगर्न आग्रह गर्दै आफूले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।