प्रतिनिधि सभा निर्वाचनः समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी - Chaitanya News
  • 2026-04-26
  • 14:10:34
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभा निर्वाचनः समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी

    प्रतिनिधि सभा निर्वाचनः समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी

    काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सूचि अनुसार, पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको पाइएको छ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्द सूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन्। यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन्। समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन्। आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।

    आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन्। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो।

    आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्द सूचीबाट हटाएको थियो। त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ।

    यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्द सूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिए आएका १० जनाको नाम समेत हटाइएको छ।