काठमाडौँ– पछिल्ला दुई सातादेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। विशेष गरी नेपाल ग्यास प्रयोग गर्ने उपभोक्ताहरू गम्भीर समस्यामा परेका छन्। बजारमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर ग्यास कम्पनीको ढोका ढकढक्याउन बाध्य भएका छन्।
भारतबाट समयमै ग्यास ढुवानी हुन नसक्दा आपूर्ति प्रणाली प्रभावित भएको बताइए पनि यसको प्रत्यक्ष मार आम उपभोक्तामाथि परेको छ। घरायसी प्रयोजनदेखि होटल, रेस्टुरेन्ट, साना उद्योगसम्म ग्यास अभावले जनजीवन प्रभावित भएको देखिन्छ।
बालाजु औद्योगिक केन्द्रमा उपभोक्ताको भिड:
ग्यास अभावको सबैभन्दा स्पष्ट चित्र काठमाडौँको बालाजु औद्योगिक केन्द्रमा देखीएको छ। यहाँ रहेको नेपाल ग्यासको कार्यालयमा बिहान सबेरैदेखि खाली सिलिन्डर बोकेर आउने उपभोक्ताको लाम लाग्ने गरेको छ।
कार्यालयले बिहानदेखि दिउँसो २ बजेसम्म मात्र सीमित मात्रामा ग्यास वितरण गर्दै आएको छ। तर माग अत्यधिक हुँदा अधिकांश उपभोक्ता खाली सिलिन्डर बोकेर निराश फर्किनुपर्ने अवस्था छ।
स्थानीयका अनुसार, विगत दुई सातादेखि यस्तै अवस्था दोहोरिँदै आएको छ। कतिपय उपभोक्ता त लगातार ३–४ दिनसम्म लाइन बसे पनि ग्यास नपाएको गुनासो गर्छन्।
![]()
उपभकता भन्छन्: “खाना पकाउनै समस्या भयो”
ग्यास अभावले विशेषगरी दैनिक ज्यालादारी गरेर खाने वर्ग, साना व्यवसायी र भाडामा बस्ने विद्यार्थीहरू बढी प्रभावित भएका छन्।
मध्ये बानेश्वरमा बस्ने उपभोक्ता अनिता तामाङ भन्छिन्, “दुई हप्तादेखि घरमा ग्यास छैन। न त यो काठमाडौंमा दाउरा नै पाइन्छ । यदि दाउरा पाइहाले पनि बाल्न पनि ठाउँ छैन। बजारमा ग्यास किन्न भनि तीन पटक गएँ , हरेक पटक ग्यास सकियो भनेर फर्काइयो। बच्चा छन्, खाना पकाउनै समस्या भएको छ।”
त्यस्तै, नयाँ बजारका उपभोक्ता रमेश श्रेष्ठको गुनासो पनि उस्तै छ। “बजारमा नेपाल ग्यास कहीँ भेटिँदैन। अन्य कम्पनीको ग्यास लिन खोज्दा पनि कालोबजारी भइरहेको छ। सिलिन्डर पाउने हो भने बढी मूल्य तिर्नुपर्ने बाध्यता छ।”
होटल व्यवसायी थप समस्यामा:
ग्यास अभावको असर घरायसी प्रयोगमा मात्र सीमित छैन। होटल, रेस्टुरेन्ट र साना खाद्य उद्योगहरू पनि गम्भीर समस्यामा परेका छन्।
बालाजु क्षेत्रमा चिया–नास्ता पसल चलाउँदै आएका दिपक महर्जन भन्छन्, “दिनको कम्तीमा दुई सिलिन्डर ग्यास चाहिन्छ। अहिले एक हप्तादेखि पुरानो स्टक सकियो। अब पसल नै बन्द गर्नुपर्ने अवस्था आयो। यसरी व्यापार चल्दैन।” उनका अनुसार, केही व्यापारीले कालोबजारी गरेर ग्यास बेचिरहेका छन् तर महँगो मूल्य तिरेर किन्ने अवस्था सबैसँग छैन।
![]()
उपभोक्ताहरू ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले भने ढुवानी समस्याका कारण आपूर्ति प्रभावित भएको जनाएको छ।
नेपाल ग्यास कम्पनीका एक अधिकारीका अनुसार,“भारतबाट आउने ग्यास ढुवानीमा समस्या देखिएको छ। सीमामा ढिलाइ र आपूर्ति व्यवस्थापनमा कठिनाइ हुँदा बजारमा पर्याप्त ग्यास पठाउन सकिएको छैन। समस्या समाधानका लागि पहल भइरहेको छ।” उनले अवस्था क्रमशः सहज हुँदै जाने दाबी गरे पनि उपभोक्ताहरू तत्काल समाधानको माग गरिरहेका छन्।
सरकारी निकायको प्रतिक्रिया:
ग्यास अभावबारे सरकार पनि जानकार रहेको बताइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तिवारीले भने, “हामीले ग्यास कम्पनीहरूसँग छलफल गरिरहेका छौँ। कृत्रिम अभाव सिर्जना गरिएको भए कारबाही हुन्छ। उपभोक्ताले कालोबजारी भएको जानकारी दिए तत्काल अनुगमन गरिनेछ।”
![]()
त्यस्तै, नेपाल आयल निगमका एक वरिष्ठ अधिकारीले ग्यास आपूर्तिको दीर्घकालीन समाधान आवश्यक रहेको बताए। “नेपाल अत्यधिक रूपमा आयातमा निर्भर छ। यस्तो समस्या बारम्बार दोहोरिन नदिन वैकल्पिक आपूर्ति मार्ग र भण्डारण क्षमतामा सुधार गर्नुपर्ने देखिन्छ।”
ग्यास अभावले उपभोक्ताको दैनिकी कष्टकर बनेको छ। बिहान काम छोडेर लाइन बस्नु, खाली हात फर्किनु, महँगोमा ग्यास किन्नु—यी सबैले आम नागरिकमा आक्रोश बढ्दो छ।
कतिपय उपभोक्ताले सरकार र ग्यास कम्पनीबीच समन्वयको अभाव रहेको आरोप लगाएका छन्। “समस्या देखिएपछि मात्रै होइन, पहिले नै तयारी हुनुपर्थ्यो,” भन्ने आवाजहरू पनि सुनिन थालेका छन्।
समाधान कहिले ?
ग्यास जस्तो अत्यावश्यक वस्तुको अभावले जनजीवन अस्तव्यस्त हुनु गम्भीर विषय हो। आपूर्ति प्रणालीमा पारदर्शिता पर्याप्त भण्डारण व्यवस्था, वैकल्पिक इन्धनको प्रवर्द्धन, कालोबजारीमाथि कडाइ जस्ता उपाय अवलम्बन नगरेसम्म यस्तो समस्या दोहोरिरहनेछ।
बालाजु औद्योगिक केन्द्रमा देखिएको भीड केवल एउटा कार्यालयको समस्या होइन, यो देशको ग्यास आपूर्ति प्रणालीको कमजोर पक्षको प्रतिबिम्ब हो। उपभोक्ता आज पनि ग्यासको आशामा लाइन बसिरहेका छन्। अब प्रश्न उठ्छ—उपभोक्ताको धैर्यको परीक्षा कहिलेसम्म ? सरकार, सम्बन्धित निकाय र ग्यास कम्पनीले छिटो र प्रभावकारी समाधान निकाल्न नसके आम नागरिकको दैनिकी थप कष्टकर बन्दै जाने निश्चित छ।
![]()