काठमाडौं– जेनजी शहीद परिवारले झण्डै १२ करोड अनुदान पाउने भएका छन् । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको हो। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा प्राप्त भएको बुझाएको मन्त्रालय उच्च स्रोतले बतायो।
पहिला प्रचलित कानुन अनुसार उपलब्ध गराउने निर्णय क्याबिनेटले गरेको थियो। तर जीवन निर्वाह भत्ता कर्मचारीले तलब पाएजसरी पाउनुपर्ने माग जेनजीहरुको थियो। त्यसपछि फेरि मन्त्रिपरिषद बैठकले अनुदान रकम दिने भनेर निर्णय ग¥यो । अहिले रकमसहित त्यही कार्यक्रमको खाका सोमबार अर्थमा पेस भएको हो,’ स्रोतले भन्यो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये ४२ जनालाई सरकारले शहीद घोषणा गरेको छ।
शहीद घोषणा गरिएकाका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार आठ सय रुपैयाँको दरले वितरण गर्ने तयारी गरेको छ। प्रत्येक वर्ष चाडबाड भत्तासहित १३ महिनाको सुविधा जेनजी शहीद परिवारले पाउने छन्। ‘४२ जना शहीद परिवारलाई मासिक २१ हजार आठ सय रुपैयाँ १३ महिनासम्म उपलब्ध गराउँदा ११ करोड ९० लाख २८ हजार रुपैयाँको हिसाब आयो,’ मन्त्रालय स्रोतले भन्यो।