काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए।
उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ।
यसका साथै होटल, लजहरुमा ‘डग स्नीफिङ’सहितको जाँच समेत सुरु गरिएको प्रहरीले बताएको छ। काठमाडौंका विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरिएको छ।
सुरक्षा चुनौतीका खबर संकलन गर्दै त्यसलाई विश्लेषण गरी सुरक्षा रणनीति बनाएर काम गरिने एसएसपी थापाले बताए।
काठमाडौं जिल्लामा ३२० मतदानस्थलहरु छन्। जसमा १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थलहरु छन्। अतिसंवेदनशील मतदानस्थल भने काठमाडौंमा एउटा पनि छैनन्।
निर्वाचनलाई लक्षित गरी काठमाडौंमा मात्रै ३ हजार ८५४ निर्वाचन प्रहरी भर्ना गरिएको छ।