काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनका सबै १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले मात्र उम्मेदवारी दिएको बताएका छन्। आज (बिहिवार) रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले प्रतिनिधि सभा निर्वाचनका सबै १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले मात्र उम्मेदवारी दिएको दाबी गरेका हुन् ।
कुल १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारिएको उनले बताए। उनका अनुसार यसले पार्टीभित्र नयाँ नेतृत्व विकास र समावेशी सहभागितालाई प्राथमिकता दिएको छ।
पार्टीको संगठनात्मक कार्यक्रमका क्रममा उनले काँग्रेसभित्र संरचनागत सुधार र रूपान्तरणलाई सक्रिय रूपमा अघि बढाइएको बताएका छन्।
उम्मेदवार छनोटका क्रममा पार्टीभित्रका विभिन्न धार र समूहबीच सन्तुलन कायम राखिएको पनि उनले उल्लेख गरेका छन्।
यस प्रक्रियाले संगठनात्मक एकता मजबुत बनाउँदै निर्वाचनमा प्रतिस्पर्धी भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।