काठमाडौं – गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार संभवतः आफ्नो जीन्दगीकै छोटो सार्वजनिक भाषण गरेका छन् ।
चितवनस्थित नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले करीब ८ मिनेट मात्रै भाषण गरेका छन् । कुनै कम्युनिष्ट प्रधानमन्त्रीले यति छोटो भाषण गर्नु लगभग अनपेक्षित हो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गरेको भाषण यति नै हो ।
छोटो मन्तव्यको अन्तर्य पनि प्रचण्डले खुलाएका छन् । प्रधानमन्त्री प्रचण्डका अनुसार, यो कार्यकालमा भाषण थोरै र काम धेरै गर्नेछन् । ‘धेरै भाषण गर्ने मनस्थितिमा छैन । यो कार्यकालमा भाषण कम र जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बाँकी जीन्दगी सुशासन र विकासको काममा समर्पित गर्ने पनि बताएका छन् । ‘पहिलो मन्त्रिपरिषद्को बैठकबाटै मैले सुशासनको निर्णय शुरु गरेको छु । भ्रष्टाचार र बेथिति अन्त्य गर्नेतिर जोड दिनेछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भनेजस्तै यसपटक सरकार बनेपछि धेरै भाषण गरेका छैनन् । यसको कारण प्रचण्डले सत्ता समीकरण बदल्नुलाई कतिपयले लिएका छन् । किनकि स्थानीय, प्रदेश र संघको चुनावमा माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट भाग लिएको थियो । स्थानीय चुनावमा ठूला शहरहरुमा माओवादी केन्द्रले कांग्रेससँग साझेदारीमा उम्मेदवारी उठाएको थियो ।
प्रदेश र संघको चुनावमा पनि कांग्रेस नेतृत्वकै गठबन्धनमा भाग लिएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा थियो । तर सरकार बनाउँदा पनि एमाले नेतृत्वको गठबन्धन बनेको छ ।
एमाले नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सामेल छ । यो सात दलीय गठबन्धनको नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।
नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको दलहरुको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डका निम्ति संभवतः यो अन्तिम अवसर भएको टिप्प्णी भइरहेका छन् । त्यस्तो बेला प्रचण्डले कुरा कम र काम धेरै गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।