प्रतिनिधिसभा निर्वाचन: सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील रूपमा वर्गीकरण - Chaitanya News
  • 2026-05-03
  • 02:20:15
  • शनिबार,बैशाख १९, २०८३
  • प्रतिनिधिसभा निर्वाचन: सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील रूपमा वर्गीकरण

    प्रतिनिधिसभा निर्वाचन: सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील रूपमा वर्गीकरण

    महेन्द्रनगर– सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो।

    नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका छन्। पहाडी जिल्ला अछाममा दुई वटा क्षेत्र छन् भने बाँकी छ पहाडी जिल्लामा एकरएक निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेका छन्। प्रदेशमा प्रदेशस्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरुले काम गरिरहेका छन्। एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल मानिएका छन् भने यहाँ दुई हजार १९९ मतदान केन्द्र रहेका छन्।

    सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएको छ। सुदूरपश्चिमको ठूलो जिल्ला कैलाली हो। यहाँका १०८ मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

    “अतिसंवेदनशीन मतदानस्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध बढाइन्छ”, उनले भने, “हामीले जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षामा योजनासहित अघि बढेका छौँ।”

    कञ्चनपुरका १३२ मतदानस्थलमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कूल ७७ मतदानस्थल रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको छ।

    सुदूरपश्चिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने छ। यहाँ नेपाल प्रहरी मात्रै सात हजारभन्दा बढी परिचालन हुने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। स्वतन्त्र र राजनीतिक दलका गरी यहाँ १६ वटा प्रतिनिधिसभा सदस्यका लागि २०६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।