सार्वजनिक–निजी साझेदारीका परियोजना कार्यान्वयनमा जोड दिन लगानी बोर्डलाई अर्थमन्त्रीको आग्रह - Chaitanya News
  • 2026-04-26
  • 17:42:41
  • आइतबार,बैशाख १३, २०८३
  • सार्वजनिक–निजी साझेदारीका परियोजना कार्यान्वयनमा जोड दिन लगानी बोर्डलाई अर्थमन्त्रीको आग्रह

    सार्वजनिक–निजी साझेदारीका परियोजना कार्यान्वयनमा जोड दिन लगानी बोर्डलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौँ– अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष रामेश्वर खनालले सार्वजनिक–निजी साझेदारी (पीपीपी)मोडेलमा प्रस्तावित र कार्यान्वयनयोग्य परियोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन लगानी बोर्डलाई निर्देशन दिएका छन्।

    आज (मंगलबार) अर्थ मन्त्रालयमा सम्पन्न सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार गठन गरिएको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा उनले सम्भव भएसम्मका परियोजनालाई रोकावटबिनै कार्यान्वयनतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए।

    बैठकमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डमा प्राप्त परियोजना प्रस्ताव तथा नीति निर्माणसम्बन्धी गतिविधिबारे जानकारी गराएका थिए। उनका अनुसार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल उद्योग, जलाशययुक्त जलविद्युत् आयोजना, एग्रो(भोल्टेक परियोजना, हरित हाइड्रोजन तथा पोडवे जस्ता विभिन्न प्रस्तावहरू बोर्डमा दर्ता भएका छन्।

    त्यस्तै, लगानी बोर्डका सहसचिव हेमराज तामाङले हालसम्म बोर्डबाट करिब १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भइसकेको विवरण प्रस्तुत गरे।

    बैठकले वन क्षेत्र उपयोग, जग्गा व्यवस्थापन, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा निर्धारण तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयमा देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ।