देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्देशन - Chaitanya News
  • 2026-04-26
  • 18:50:53
  • आइतबार,बैशाख १३, २०८३
  • देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्देशन

    देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्देशन

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तह तथा ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गराउन औपचारिक निर्देशन पठाएको छ।

    निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित निकायले आ–आफ्नो कार्यक्षेत्रमा कडाइका साथ पालन गराउनुपर्ने उल्लेख मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी परिपत्रमा गरिएको छ। सो परिपत्रमार्फत स्थानीय तह र जिल्ला समन्वय समितिलाई आवश्यक पत्राचार गरी आचारसंहिता लागू गराउने दायित्व स्मरण गराइएको छ।

    यसअघि सरकारद्वारा २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै निर्वाचन आचारसंहिता सार्वजनिक गरिएको थियो। निर्वाचन आयोगले अर्को व्यवस्था नभएसम्मका लागि उक्त आचारसंहिता लागू रहने स्पष्ट गरेको छ।

    राष्ट्रियसभा निर्वाचन माघ ११ गते सम्पन्न   तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो। मन्त्रालयले यसलाई आवश्यक जानकारी तथा कार्यान्वयनका लागि भन्दै सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

    निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ तथा दफा ५५ समावेश रहेको मन्त्रालयले जानकारी दिएको छ।