मन्त्रालयले बोलाएको बैठकमा अनुपस्थित भएपछि रजिष्ट्रारलाई २४ घण्टे स्पष्टीकरण - Chaitanya News
  • 2026-05-08
  • 12:18:08
  • शुक्रबार,बैशाख २५, २०८३
  • मन्त्रालयले बोलाएको बैठकमा अनुपस्थित भएपछि रजिष्ट्रारलाई २४ घण्टे स्पष्टीकरण

    मन्त्रालयले बोलाएको बैठकमा अनुपस्थित भएपछि रजिष्ट्रारलाई २४ घण्टे स्पष्टीकरण

    सुनसरी — विकास कार्यक्रम तथा आयोजनाको त्रैमासिक समीक्षा बैठकमा अनुपस्थित भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको आर्थिक वर्ष २०७९र०८० को प्रथम त्रैमासिकमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको समीक्षा बैठकमा उपस्थित नभएको भन्द बीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्य संग्रौलालाई स्पष्टीकरण सोधेको हो। मन्त्रालयले सोधेको पत्रमा भनिएको छ, ‘मिति २०७९ पुस १२ गते संचालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा तहांबाट कुनै पनि पदाधिकारी उपस्थित भएको देखिएन। तसर्थ मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमिति जस्तो महत्त्वपूर्ण बैठकमा केकेति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनु हुन यस मन्त्रालय सचिवस्तरीय निर्णयानुसार जानकारी गराइन्छ।’

    स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रले यतिबेला प्रतिष्ठान पदाधिकारीहरुबीच खैलाबैला मच्चिएको छ। स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष जोडिएको प्रतिष्ठानका रजिष्ट्रार त्रैमासिक समीक्षा बैठकमा अनिवार्य उपस्थिति नजनाउनु र आर्थिक संकट बेहोरिरहेको प्रतिष्ठानको तर्फबाट बैठकमा आधिकारिक रुपमा कुनै राय सुझाव र प्रतिवेदन प्रस्तुत नहुँदा प्रतिष्ठान आलोचित बन्दै आएको छ। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको महत्त्वपूर्ण बैठकमा बीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौला अनुपस्थित रहँदा उनको आलोचना हुने गरेको छ।

    ‘बीपी प्रतिष्ठान अखिल भारतीय आयुर्विज्ञान प्रतिष्ठान ९एम्स०को मोडेलमा तयार भएर स्वायत्त संस्था भए पनि स्वास्थ्य मन्त्रालय मातहतकै संस्था भएकाले रजिष्ट्रार जान नपाएको अवस्थामा उनी मातहतका कुनै सिनियर अधिकृतलाई पठाउन सक्थे। तर मन्त्रालयको पत्रअनुसार त्यो पनि नगरेको देखियो,’ प्रतिष्ठानका एक चिकित्सकले भने।

    मेडिकल उपकरण, दैनिक आवश्यक सामग्री खरिद, व्यवस्थापन, उपचार सेवामा ढिलासुस्ती, प्राज्ञिक अध्ययन अध्यापनको विषयमा प्रतिष्ठानको ‘इमेज’ नकारात्मक भइरहेका बेला पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयसँग समन्वय, सहकार्य गरेर सुधार्दै जानुपर्नेमा उल्टो काम भएको ती चिकित्सकले बताए। ‘रजिष्ट्रार सरलाई आकस्मिक काम परेको भए आफूभन्दा तलका कुनै अधिकृतलाई सहभागिता जनाउन पठाउनु पर्ने हो। मन्त्रालयको निमन्त्रणालाई बेवास्ता गर्दा २४ घण्टे स्पष्टीकरण खानु भनेको रजिष्ट्रारको बेइज्जत होइन प्रतिष्ठानकै अपमान भएको छ।’

    मन्त्रालयले बैठकमा उपस्थितिका लागि प्रतिष्ठानका रजिष्ट्रारलाई पुस ७ गते नै पत्र पठाएर पुस १२ गतेको बैठकमा सहभागी हुन भनेको थियो। रजिष्ट्रार संग्रौलाले भने प्रतिष्ठानमा पदाधिकारीमध्ये त्यसबेला आफू मात्र रहेको र तलब खुवाउनु पर्ने, अडिट गर्नुपर्ने, अन्तर्वार्ता लिनुपर्ने र नया शिक्षाध्यक्ष नियुक्त भएकाले मन्त्रालयको बैठकमा सहभागी हुन नपाएको प्रतिक्रिया दिएका छन्।

    ‘मन्त्रालयले भनेको कुरा नमान्ने कुरै छैन। तर मैले अनुपस्थित भए पनि लेखालाई सोधेर बीपी प्रतिष्ठानको सबै विवरण इमेल मार्फत् पठाइदिएको थिएँ,’ रजिष्ट्रार संग्रौलाले भने। संग्रौला पत्र पाएको भोलिपल्ट शुक्रबार काठमाडौं गए पनि ९ गते शनिबार नै फर्किएका थिए।