कर्णालीका आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति - Chaitanya News
  • 2026-05-03
  • 06:10:26
  • आइतबार,बैशाख २०, २०८३
  • कर्णालीका आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति

    कर्णालीका आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति

    काठमाडौं– कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। कर्णालीका १० जिल्लाहरुमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो।

    सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

    हुम्लामा एमालेका दल फडेरा र प्रलोपाका जटिल कार्की उम्मेदवार छन्। यीबाहेक कांग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र रास्वपाका टासी ल्हान्जोम उम्मेदवार छन्।

    यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार छन्। यी बाहेक कांग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाका विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतलगायत उम्मेदवार छन्।

    कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्ला छन्।

    यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरुमा एमालेलाई प्रलोपाले समर्थन गर्ने छ भने रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ।

    हुम्ला र जुम्ला बाहेकका कर्णालीका अरु सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमति भएको छ।