काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको छनोट प्रक्रिया जारी छ।
निर्वाचन प्रहरीमा भर्ना हुन १ लाख ९७ हजार ७२७ जनाले आवेदन दिएका छन्। अहिले सबै जिल्लामा निर्वाचन प्रहरीको छनौट प्रक्रिया चलिरहेको छ।
माघ १२ मा निर्वाचन प्रहरीको नतिजा प्रकाशन गरिने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए।
यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ। त्यसका लागी अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ।
सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ। सशस्त्रले जिल्ला सुरक्षा समिति मार्फत भर्ना प्रक्रिया अघि बढाएको छ।
दुवै सङ्गठनमा भर्ना हुन आवेदन दिएका मध्ये सुरुको चरणमा पास भएका १ लाख ८१ हजार प्रतिस्पर्धी अहिले लिखित र मौखिक परीक्षा दिँदै छन्।
प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम)जाँच गर्न थालेको छ।
सिआरएस चेक गर्दा अपराधमा संलग्न भएको वा फरार आरोपीबारे थाहा हुन्छ। सबै प्रतिस्पर्धीको सिआरएस हेर्ने काम भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए।
निर्वाचन प्रहरीहरूको लिखित र मौखिक परीक्षाको चरण चलिरहँदा जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरू र आपराधिक गतिविधिमा संलग्न हुनेहरू पनि भर्ना हुन आएको आशङ्कामा सिआरएस हेर्न थालिएको हो।
गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘आपराधिक पृष्ठभूमिका व्यक्ति भर्ना भएमा चुनावमा अनुशासन कायम गर्न समस्या हुने हुनाले सिआरएस जाँच गर्ने निर्णय भएको हो।’
यसपटक धेरै जिल्लामा माग संख्या भन्दा थोरैले आवेदन दिएका छन्। जिल्लागत संख्या पूर्ति गर्न छिमेकी जिल्लामा छनोट भएका निर्वाचन प्रहरीलाई खटाउने निर्णय गरिएको छ।