काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव र पहिचान नखुलेका उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन्। आज (बिहीबार) झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अनुभव र पहिचान नखुलेका उम्मेदवारलाई समर्थन गर्दा मताधिकारको मूल्य घट्ने भन्दै मतदातालाई सजग रहन आग्रह गरेका हुन् ।
यस्तै उनले विगतमा नयाँ भनेर अपरिचित व्यक्तिलाई मत दिँदा विकासको गति अवरुद्ध भएको अनुभव स्मरण गराउँदै त्यस्तो अवस्था पुनः नआओस् भन्नेतर्फ ध्यानाकर्षण गराए। उनले काम गरेर परिणाम देखाएका र सार्वजनिक रूपमा चिनिएका उम्मेदवारलाई नै समर्थन गर्नुपर्ने धारणा राखेका छन्।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको महोत्तरीस्थित निवासअगाडि सडक र पुल निर्माण आफूले गराएको दाबी गर्दै यसबारे प्रश्नसमेत उठाए।
कार्यक्रममा सुकुम्बासी विषयमा पनि चर्चा गर्दै उनले जबरजस्ती डोजर प्रयोग गरेर विस्थापन गरिन्छ कि भन्ने चिन्ता समुदायमा रहेको उल्लेख गरे।
अध्यक्ष ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारभन्दा स्थानीय प्रतिनिधिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले एमाले पद प्राप्तिका लागि मात्र नभई राष्ट्रिय हित संरक्षण र विकासका लागि निरन्तर प्रयासरत रहेको स्पष्ट पारेका छन्।