आज उम्मदेवारहरुको नामावली सार्वजनिक हुँदै - Chaitanya News
  • 2026-05-05
  • 13:40:54
  • मंगलबार,बैशाख २२, २०८३
  • आज उम्मदेवारहरुको नामावली सार्वजनिक हुँदै

    आज उम्मदेवारहरुको नामावली सार्वजनिक हुँदै

    काठमाडौँ– प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज सार्वजनिक हुँदै छ।

    निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा मंगलबार उजुरी दिने कार्यतालिका थियो।

    उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

    उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको हो।

    यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ।

    आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिंगी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ।

    यसपटक जेन जेड आन्दोलनका कारण संसद विघटन गरेर कार्यकाल पूरा नहुँदै प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ।

    यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन्।