६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपियो - Chaitanya News
  • 2026-04-26
  • 22:13:53
  • आइतबार,बैशाख १३, २०८३
  • ६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपियो

    ६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपियो

    काठमाडौँ– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार, ६ महिनाको अवधिमा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ।

    असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो। यो ऋण अहिले २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ रहेको पुगेको छ। यस अनुसार ६ महिनाको अवधिमा मात्रै सरकारको ऋण दायित्वमा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थपिएको छ। यसरी हेर्दा ६ महिनाको अवधिमा कुल ऋण ४.९५ प्रतिशतले वृद्धि भएको छ।

    पुसको एक महिनामै ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाइएको छ। यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ भने ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण प्राप्त भएको छ।

    अर्कोतिर यही अवधिमा सरकारले २० अर्ब ११ अर्ब १५ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानीमा खर्च गरेको छ। जसमा आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ।

    यसरी पुस महिनामा मात्रै सरकारले भुक्तानी गरेको भन्दा १६ अर्ब ३१ करोड रुपैयाँ बढी ऋण थप गरेको देखिन्छ। नेपालको कुल ऋणमा बाह्य ऋणको हिस्सा अझै पनि बढी छ। तर आन्तरिक ऋणको भार पनि बढ्दै गएको देखिन्छ।

    पुस मसान्तसम्म रहेको कुल २८ खर्ब ६ अर्ब ३९ करोड ऋणमध्ये १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयको विवरण छ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.९५ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋणको अनुपात २१.६० प्रतिशत र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको छ।

    नेपालको पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ रहेको देखिन्छ। सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये पुस मसान्तसम्ममा २ खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भएको छ। यो वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो।

    यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्बको वार्षिक लक्ष्य रहेकोमा १ खर्ब ७७ अर्ब ६६ करोड अर्थात् ४९.०८ प्रतिशत प्राप्त भएको छ। २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा जम्मा ३६ अर्ब ८९ करोड अर्थात् १५.७९ प्रतिशत मात्र प्राप्ति भएको छ।