काठमाडौं – पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् ।
आफूले भन्दै नभनेको कुरा केही सञ्चारमाध्यममा समाचार बनेकामा उनले आश्चर्य प्रकट गरिन् । आफूले पार्टी नेतृत्वसमक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ।
‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’ केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचार आएका थिए ।
सत्ता गठन्बन्धनका दलबीच भागबन्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति पद माओवादी केन्द्रले लिने सहमति छ ।