काठमाडौँ– राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।
नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन जेड आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरवारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ।
अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन्। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली काँग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा (३ को उपधारा ९१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए। गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ। राष्ट्रिय सभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रिय सभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ।