धनगढी– चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा पूर्व एथ्लेटिक्स खेलाडी तेजेन्द्र थापा लाई “खेलकुद योगदान सम्मान” प्रदान गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एथ्लेटिक्स खेलको प्रवद्र्धन गर्दै लामो समयसम्म खेलकुद क्षेत्रमा योगदान पु¥याउनुका साथै युवा खेलाडीहरूका लागि प्रेरणा र मार्गदर्शन प्रदान गरेको योगदानको उच्च कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
महोत्सवको आठौँ दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा डा. नवराज लम्साल, विशिष्ट अतिथि एन.आर.एन.ए. सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित थापा लाई सम्मान गरेका हुन ।
थापाले एथ्लेटिक्स खेलाडीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउँदै नेपाली खेलकुदको पहिचान विस्तारमा योगदान पु¥याउनुका साथै खेल जीवनपछि पनि युवालाई अनुशासन, मेहनत र खेलभावनातर्फ प्रेरित गर्दै आएका छन् । खेलकुदमार्फत युवालाई स्वस्थ, आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध बनाउने उनको भूमिका उदाहरणीय रहेको आयोजकको भनाइ छ ।
सम्मान ग्रहण गर्दै थापाले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताउँदै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र युवाको सशक्तीकरणका लागि निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकता दिँदा सक्षम र अनुशासित नागरिक उत्पादन गर्न सकिने उल्लेख गरे।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवको पहिले दिनदेखि नै साहित्यिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भएका थिए । विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको ओजना गरिएको र आज समापन गरिएको आयोजकले बताएको छ ।