धनगढी- चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढीका समाजसेवी गोविन्द के.सि. लाई “उत्कृष्ट प्रेरणादायी सम्मान” प्रदान गरिएको छ।
खेलकुद, समाजसेवा तथा उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो। महोत्सवको विशेष समारोहबिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला तथा कदर चिन्हसहित गोविन्द के. सि. लाई सम्मान गरिएको आयोजकले जनाएको छ।
के. सि. ले सुन्दर सुदूरपश्चिमको भूमिमा रहेर युवालाई खेलकुद, सामाजिक उत्तरदायित्व र उद्यमशीलतामार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउँदै प्रेरणाको स्रोतका रूपमा भूमिका निर्वाह गर्दै आएका छन् । विशेष गरी युवालाई आत्मनिर्भर, कर्मशील र सामाजिक रूपमा जिम्मेवार बनाउने अभियानमा उनको योगदान उल्लेखनीय रहेको आयोजकको भनाइ छ ।
सम्मान ग्रहण गर्दै गोविन्द के. सि. ले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारीको अनुभूति गराएको बताउँदै आगामी दिनमा पनि समाजसेवा, खेलकुद विकास र युवाको सशक्तीकरणका क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच र प्रेरणा फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्रतिनिधिहरूले विद्यार्थी महोत्सवको उद्देश्य केवल प्रतिस्पर्धात्मक गतिविधिमा सीमित नरही समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीमा नेतृत्व, प्रेरणा र नैतिक मूल्य विकास गर्नु रहेको उल्लेख गरे ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद तथा बौद्धिक कार्यक्रमसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।