चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा शारदा माविका प्रधानाध्यापक तेज सिंह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 16:01:58
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा शारदा माविका प्रधानाध्यापक तेज सिंह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा शारदा माविका प्रधानाध्यापक तेज सिंह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित

    धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा शारदा माध्यमिक विद्यालय, धनगढीका प्रधानाध्यापक तेज सिंहज्यू लाई “चैतन्य शिक्षा सेवा सम्मान” प्रदान गरिएको छ। विद्यालय नेतृत्वमा समर्पण, अनुशासन र दूर दृष्टिसहित शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुधारमा पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    महोत्सवको आठौँ दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा विशिष्ट अतिथि एन.आर.एन.ए. सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा,  पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित सिंहलाई सम्मान गरेका हुन ।

    प्रधानाध्यापक सिंहको नेतृत्वमा शारदा माध्यमिक विद्यालयमा अनुशासित शैक्षिक वातावरण निर्माण, शिक्षण–सिकाइ प्रक्रियामा सुधार, विद्यार्थीमैत्री कार्यक्रम सञ्चालन तथा शिक्षक–अभिभावक समन्वय सुदृढ हुँदै गएको आयोजकले जनाएको छ । शिक्षामा नवप्रवर्तन र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित उनका प्रयासहरूलाई विशेष रूपमा सराहना गरिएको छ।

    सम्मान ग्रहण गर्दै सिंहले चैतन्य पाठशालाबाट प्राप्त सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र मूल्य–आधारित शिक्षामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षालाई समाज परिवर्तनको बलियो आधारका रूपमा अघि बढाउन सबै सरोकार बालाबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

    विद्यार्थीलाई जिम्मेवार, सक्षम र नैतिक नागरिक बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा चैतन्य पाठशालाले अघि बढाएको प्राचार्य प्रेमनिधि ओझाले बताए। यस्ता सम्मानले शिक्षक र विद्यालय नेतृत्वलाई थप प्रेरणा मिल्ने उनको भनाइ थियो ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा विज्ञान–प्रविधि सम्बन्धी विविध कार्यक्रमसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र आज समापन गरिएको आयोजकले जनाएको छ।