धनगढी – चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी निवासी कला तथा संस्कृति कर्मी खडक मल्ललाई “कला–संस्कृति सेवा सम्मान” प्रदान गरिएको छ। कला, साहित्य र सांस्कृतिक चेतनाको माध्यमबाट स्थानीय पहिचान, मौलिकता र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
महोत्सवको आठौँ तथा समापन समारोहका दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा सञ्चारकर्मी डा।नवराज लम्साल, विशिष्ट अतिथि सशस्त्र प्रहरीवल नेपालको लागूपदार्थ दुर्वेशनी विरुद्धका जागरण दूत ,ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित मल्ललाई सम्मान गरेका हुन ।
मल्लले सृजनात्मक साधना, विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना तथा सामाजिक सहभागितामार्फत समुदायमा कला र संस्कृतिको महत्त्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चैतन्य पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीले बताए । स्थानीय मौलिक नृत्य, गीत, साहित्यिक प्रस्तुति तथा सांस्कृतिक अभियानमार्फत उनले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्दै आएको प्रयास अतुलनीय रहेको जोशीको भनाई रहेको थियो ।
सम्मान ग्रहण गर्दै मल्लले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै भावी पुस्तामा कला र संस्कृतिप्रतिको चेतना जगाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विद्यालय तहबाटै विद्यार्थीलाई मौलिक कला, भाषा र संस्कृतिप्रति जोड्न सके मात्र सांस्कृतिक पहिचान सुरक्षित रहन सक्ने धारणा व्यक्त गरेका छन् ।
विद्यार्थी महोत्सवको उद्देश्य केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित नभई समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीमा सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्नु रहेको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । “विद्यार्थीले आफ्नै समुदायका स्रष्टा र संस्कृतिकर्मीलाई नजिकबाट चिन्ने अवसर पाउनु पनि महोत्सवको महत्त्वपूर्ण उपलब्धि रहेको समेत प्राचार्य ओझाले बताए ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवको पहिले दिनदेखि नै साहित्यिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भएका थिए । विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको ओजना गरिएको र आज समापन गरिएको आयोजकले बताएको छ ।