चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रधानाध्यापक ज्ञानेन्द्र शाह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-28
  • 18:19:07
  • मंगलबार,बैशाख १५, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रधानाध्यापक ज्ञानेन्द्र शाह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रधानाध्यापक ज्ञानेन्द्र शाह ‘चैतन्य शिक्षा सेवा सम्मान’बाट सम्मानित

    धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सरस्वती माध्यमिक विद्यालय, धनगढीका प्रधानाध्यापक ज्ञानेन्द्र शाहलाई “चैतन्य शिक्षा सेवा सम्मान” प्रदान गरिएको छ । विद्यालय नेतृत्वमा समर्पण, अनुशासन र दूर दृष्टिसहित शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुधारमा पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

    महोत्सवको आठौँ दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा विशिष्ट अतिथि एन।आर।एन।ए। सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत वाक्कलाका प्रभावशाली प्रस्तोता ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीज्यूले सम्मान पत्र र मायोको चिनो सहित शाहलाई सम्मान गरेका हुन ।

    सरस्वती माध्यमिक विद्यालयमा अनुशासित शैक्षिक वातावरण निर्माण, शिक्षण–सिकाइ प्रक्रियामा सुधार, शिक्षक तथा विद्यार्थीबिच सकारात्मक समन्वय स्थापना र विद्यार्थीको सर्वाङ्गीण विकासमा उल्लेखनीय उपलब्धि स्वरूप उनलाई सम्मान गरिएको हो ।

    सम्मान ग्रहण गर्दै प्रधानाध्यापक शाहले चैतन्य पाठशालाबाट प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि शैक्षिक नेतृत्वलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षालाई समाज परिवर्तनको मुख्य आधारका रूपमा लिएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

    विद्यार्थीलाई अनुशासित, सक्षम र जिम्मेवार नागरिक बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा चैतन्य पाठशालाले अघि बढाएको प्राचार्य प्रेमनिधि ओझाले बताए। उनले यस्ता सम्मानले शिक्षामा कार्यरत व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा वैज्ञानिक गतिविधिसँगै समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना अभिवृद्धि र सेवा भावको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको र आज समापन गरिएको आयोजकले जनाएको छ।