काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्। आज (मंगलबार) सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै आएको छ।
तर विशेष पक्षधरहरूले पार्टीको विधान अनुसार विशेष महाधिवेशन भइरहेको बताउँदै आएका छन्।
दुवै पक्षले आ–आफ्नो अडान कायम राखेपछि मध्यमार्गी बाटोबाट सहमति खोज्न अहिले बालुवाटारमा वार्ता जारी छ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्।
सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।
वार्ता जारी रहेकै समयमा विशेष महाधिवेशन पक्षधरबाट वार्तामा सहभागी भएका नेता पौडेलले एक्समा लेखेका छन्, ‘वाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ। हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं।