धनगढी– सुदूरपश्चिम प्रदेशमा तेक्वान्डो खेलकुदको विकास, खेलाडी उत्पादन तथा सङ्गठनात्मक विस्तारमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सुदूरपश्चिम तेक्वान्डो सङ्घका सचिव श्रीराम चौधरीलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य उत्कृष्ट खेलकुद योगदान सम्मान’ प्रदान गरिएको छ।
तेक्वान्डो प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा युवामा अनुशासन, आत्मबल र सकारात्मक जीवनशैली विकास गराउन निरन्तर सक्रिय भूमिकाका कारण उनलाई महोत्सवको आज सातौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित चौधरीलाई सम्मानित गरिएको हो।
सम्मान ग्रहण गर्दै चौधरीले चैतन्य पाठशालाप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि प्रदेशमा तेक्वान्डो खेलको विस्तार, नयाँ खेलाडी उत्पादन र खेल संस्कृतिको प्रवर्द्धनका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवापुस्तालाई खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउन सबैको सहकार्य आवश्यक रहेको बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, खेलकुद, उद्यमशीलता तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर जारी रहेको आयोजकले जनाएको छ।