धनगढी– युवाको सक्रिय सहभागिता, नागरिक पारदर्शिता तथा जबाफदेहिता प्रवर्द्धनका लागि निरन्तर अभियान सञ्चालन गर्दै स्थानीय शासन प्रणाली सुदृढीकरणमा योगदान पु¥याउँदै आएकी युवा अभियानकर्मी गंगा भण्डारीलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य उत्कृष्ट युवा अभियानकर्मी सम्मान’ प्रदान गरिएको छ।
धनगढी उपमहानगरपालिकामा युवा नीति निर्माण, नागरिक सचेतना अभिवृद्धि तथा जबाफदेही शासन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
समारोहमा समाज र भावी पुस्ताको दिगो विकासका लागि युवाको नेतृत्वदायी भूमिकालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो । महोत्सवको आज आठौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलाली गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित भण्डारीलाई सम्मानित गरिएको हो।
सम्मान ग्रहण गर्दै भण्डारीले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै युवालाई नीति निर्माण र सुशासनका सवालमा अझ सक्रिय बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले स्थानीय तहसँग सहकार्य गर्दै नागरिक सचेतना र जबाफदेहिता प्रवर्द्धनमा काम गरिरहने बताएकी हुन ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, खेलकुद, उद्यमशीलता तथा युवा नेतृत्वका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको आयोजकले जानकारी दिएको छ।