चैतन्य पाठशालामा डा. नवराज लम्सालसँग आज ‘चैतन्य काव्य साँझ’ आयोजना हुँदै - Chaitanya News
  • 2026-04-27
  • 19:08:55
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य पाठशालामा डा. नवराज लम्सालसँग आज ‘चैतन्य काव्य साँझ’ आयोजना हुँदै

    चैतन्य पाठशालामा डा. नवराज लम्सालसँग आज ‘चैतन्य काव्य साँझ’ आयोजना हुँदै

    धनगढी- शिक्षा, संस्कार र सृजनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चैतन्य पाठशालाको आयोजनामा साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख उपस्थितिमा ‘चैतन्य काव्य साँझ’ कार्यक्रम आयोजना हुने भएको छ । “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भाव सहित सञ्चलनमा रहेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ को सातौँ दिन डा। लम्सालको प्रमुख उपस्थितिमा कार्यक्रममा कविता वाचनसँगै साहित्यिक साक्षात्कारसमेत गरिने आयोजना हुने भएको हो ।

    कार्यक्रम आज अर्थात् पौष २८ गते सोमबार साँझ ४ः०० बजे चैतन्य पाठशाला परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा डा. लम्सालले आफ्ना चर्चित तथा नवीन सिर्जनाहरू वाचन गर्नुका साथै साहित्य, समाज, शिक्षा र सञ्चार क्षेत्रका समसामयिक विषयमा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् ।

    शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मानलाई संस्थागत पहिचान बनाउँदै आएको चैतन्य पाठशालाले नियमित रूपमा शैक्षिक, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    डा. नवराज लम्साल नेपाली साहित्यमा आधुनिक चेतना, सामाजिक यथार्थ र राष्ट्रिय भावनालाई समेटेर सिर्जना गर्ने स्रष्टाका रूपमा परिचित छन्। कविता, निबन्ध र सञ्चार माध्यममार्फत समाजका विविध पक्षलाई उजागर गर्दै आएका डा. लम्सालको उपस्थितिले कार्यक्रमलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ । उनका कृतिहरू विशेष गरी युवापुस्तामाझ लोकप्रिय छन् ।

    कार्यक्रममा चैतन्य पाठशाला, चैतन्य एकेडेमी नेपाल, चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमेन्ट (CIRD नेपाल), चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट तथा ऐश्वर्या पब्लिकेसनको सहकार्य रहनेछ। साथै चैतन्य खबर र चैतन्य मञ्चले मिडिया पार्टनरको भूमिका निर्वाह गर्नेछन्।

    आयोजक चैतन्य पाठशालाले विद्यार्थी, अभिभावक, साहित्य प्रेमी, शिक्षक तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई साहित्यिक वातावरणको अनुभूति लिन आग्रह गरेको छ । स्थानीय तहमा साहित्यिक गतिविधि विस्तार गर्दै स्रष्टा र पाठकबिच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताएका छन् ।