धनगढी– चैतन्य पाठशालाद्वारा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ को छैटौँ दिन सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा प्राध्यापक डा. हेमराज पन्त प्रेरक अतिथिका रूपमा उपस्थित हुँदै वर्तमान समयमा हाम्रो संस्कार, संस्कृति र मौलिक परम्परामाथि भइरहेको प्रहार गम्भीर चुनौतीको रूपमा देखा परेको बताउनुभएको छ ।
महोत्सवलाई सम्बोधन गर्दै डा. पन्तले आधुनिक जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग र भौतिकतामुखी सोचका कारण बालबालिकाहरू आफ्नो मौलिक संस्कृतिबाट टाढिँदै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विकासको नाममा हाम्रो पहिचान नै गुमाउँदै त छैनौँ भन्ने प्रश्न आज सबैभन्दा गम्भीर बनेको छ । यस्तो अवस्थामा संस्कार संरक्षणको जिम्मेवारी विद्यालय र अभिभावक दुवैको साझा दायित्व हो” ।
उहाँले शिक्षा केवल किताबी ज्ञानमा सीमित नराखी नैतिक शिक्षा, सामाजिक व्यवहार, अनुशासन र कर्तव्य बोधको विकास गरिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “बालबालिकामा सानैदेखि सही मूल्य, संस्कार र संस्कृतिप्रतिको सम्मान विकास गर्न सकियो भने उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्”।
डा. पन्तले शास्त्रमा धनभन्दा धर्मलाई ठुलो स्थान दिइएको स्मरण गराउँदै भन्नुभयो, “धनले अस्थायी सुविधा दिन सक्छ, तर धर्म, नैतिकता र संस्कारले मात्रै दीर्घकालीन सुख र शान्ति दिन्छ । त्यसैले बालबालिकामा धन कमाउने सोचभन्दा पहिले असल मान्छे बन्ने संस्कार विकास गर्नु आजको मुख्य आवश्यकता हो।”
कार्यक्रममा उहाँले आजको प्रतिस्पर्धात्मक समाजमा अभिभावकहरू पनि केवल नतिजा र करियर केन्द्रित सोचमा सीमित हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार शैक्षिक सफलतासँगै मानवीय गुण, सामाजिक जिम्मेवारी र राष्ट्रप्रतिको दायित्वबोध पनि शिक्षाको अभिन्न हिस्सा हुनुपर्छ ।
डा. पन्तले चैतन्य पाठशालाले शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाइरहेको प्रयासलाई उदाहरणीय बताउँदै खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो “चैतन्य पाठशालाले वेद र विज्ञान, परम्परा र प्रविधि, संस्कार र आधुनिक शिक्षाबिच सन्तुलन कायम गर्दै जुन अभ्यास गरिरहेको छ, त्यो आजको आवश्यकता हो,”।
उहाँले यस्ता विद्यार्थी महोत्सवहरूले बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता, सार्वजनिक बोल्ने कला, सृजनशीलता र टोली भावना विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । साथै, यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई आफ्नै संस्कृति र समाजप्रति गर्व गर्न सिकाउने भएकाले यसको निरन्तरता आवश्यक रहेको समेत बताउनुभयो।
डा. पन्तले चैतन्य पाठशालाको शैक्षिक यात्राको सफलताको कामना गर्दै भविष्यमा पनि समाजलाई नैतिक, सक्षम र संस्कारित नागरिक प्रदान गर्ने केन्द्रका रूपमा पाठशालाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।