चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा क्रिकेटर विपिन रावल ‘चैतन्य क्रिकेट प्रतिभा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 19:31:22
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा क्रिकेटर विपिन रावल ‘चैतन्य क्रिकेट प्रतिभा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा क्रिकेटर विपिन रावल ‘चैतन्य क्रिकेट प्रतिभा सम्मान’बाट सम्मानित

    धनगढी– चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका युवा क्रिकेटर विपिन रावललाई ‘चैतन्य क्रिकेट प्रतिभा सम्मान’ प्रदान गरिएको छ।

    U–19 विश्वकप, U–19 एसिया कप तथा नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत चितवन राइनोज (Chitwan Rhinos) बाट उत्कृष्ट प्रदर्शन गर्दै नेपालको क्रिकेट क्षेत्रमा लगन, निरन्तर मेहनत र उच्च खेल भावनाको उदाहरण प्रस्तुत गरेको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ।

    कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई देश र प्रदेशको गौरव बढाएको तथा युवा क्रिकेट प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धनमा प्रेरणादायी भूमिका खेलेको योगदानको सम्मान स्वरूप महोत्सवको छैटौँ दिन चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र दोसल्ला सहित सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्रा.डा. हेमराज पन्त, नेपाल पतञ्जलि योग समितिका मुख्य केन्द्रीय प्रभारी गुरु लवदेव मिश्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रूपमा क्रिकेटर रावललाई सम्मान गरेका हुन् ।

    यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने आफ्नो विश्वास रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

    सम्मान ग्रहण गर्दै क्रिकेटर रावलले चैतन्य पाठशालाले दिएको सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनमार्फत देशको नाम उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै युवा खेलाडीहरूलाई निरन्तर अभ्यास, धैर्य र आत्मविश्वासका साथ अघि बढ्न समेत आग्रह गरे ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सृजनात्मक गतिविधिसँगै विभिन्न विधामा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।