धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ऐश्वर्य विद्या निकेतन, धनगढीकी संयोजक डा. तुलसी शर्मालाई ‘प्राज्ञिक उत्कृष्टता तथा महिला शैक्षिक नेतृत्व सम्मान’ प्रदान गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली विषयमा पीएच.डी. हासिल गर्ने पहिलो महिलाका रूपमा उच्च शैक्षिक साधना, अनुसन्धान र प्राज्ञिक प्रतिबद्धतामार्फत नेपाली भाषा, साहित्य तथा शिक्षाको क्षेत्रमा ऐतिहासिक योगदान पु¥याई सुदूरपश्चिमलाई चिनाउन भूमिका खेलेको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ ।
महोत्सवको छैटौँ दिन चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र दोसल्ला सहित सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्रा.डा. हेमराज पन्त, नेपाल पतञ्जलि योग समितिका मुख्य केन्द्रीय प्रभारी गुरु लवदेव मिश्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रूपमा डा. शर्मालाई सम्मान गरेका हुन् ।
डा. शर्माले नेपाली भाषा र साहित्यको अनुसन्धान, पाठ्यक्रम विकास, शिक्षक प्रशिक्षण तथा विद्यार्थी मार्गदर्शनमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएकी साथै, महिला सशक्तीकरण र शैक्षिक नेतृत्वमा उनले देखाएको सक्रियता धेरै युवतीका लागि प्रेरणाको स्रोत बनेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् ।
सम्मान ग्रहण गर्दै डा. शर्माले प्राप्त सम्मानले अझ ठुलो जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै उच्च शिक्षा, अनुसन्धान र साहित्यिक चेतनाको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले विद्यार्थीलाई अध्ययनसँगै अनुसन्धानशील सोच विकास गर्न आग्रह गर्दै भाषा र साहित्य समाजको चेतनाको आधार भएको बताइन् ।
विद्यार्थी महोत्सवमार्फत शैक्षिक उपलब्धि र नेतृत्व क्षमतामा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा अध्ययनप्रतिको लगाव, अनुसन्धानशील सोच र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्य रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, साहित्य, विज्ञान, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।