धनगढी — चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा पद्मा अस्पताल, अत्तरिया का चिकित्सक तथा प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीलाई ‘चैतन्य स्वास्थ्य सेवा सम्मान’ प्रदान गरिएको छ।
सुदूरपश्चिमको माटोमा रहेर निष्ठा, समर्पण र मानवीय संवेदनाका साथ चिकित्सकीय सेवा तथा अस्पताल व्यवस्थापनमार्फत समाजको समग्र उन्नयनमा उल्लेखनीय योगदान पु¥याउनु भएको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको छ । गुणस्तरीय उपचार सेवा, आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग तथा संस्थागत नेतृत्वमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तारमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको आयोजक चैतन्य पाठशालाले जनाएको छ।
महोत्सवको छैटौँ दिन चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र र दोसल्ला सहित सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्रा.डा. हेमराज पन्त, नेपाल पतञ्जलि योग समितिका मुख्य केन्द्रीय प्रभारी गुरु लवदेव मिश्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रूपमा डा. मौनीलाई सम्मान गरेका हुन् ।
डा. मौनीले अस्पताल व्यवस्थापनसँगै बिरामी मैत्री सेवा, आपत्कालीन उपचार तथा स्वास्थ्य सचेतना कार्यक्रममार्फत समुदायको स्वास्थ्य स्तर सुधारमा योगदान पु¥याउँदै आएका चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् । ग्रामीण तथा अर्ध–सहरी क्षेत्रका नागरिकलाई समेत सहज रूपमा उपचार सेवा उपलब्ध गराउने अतुलनीय रहेको अध्यक्ष जोशीको भनाई रहेको छ ।
सम्मान ग्रहण गर्दै डा. मौनीले प्राप्त सम्मानले थप जिम्मेवारी बढाएको अनुभूति भएको बताउँदै भविष्यमा पनि सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य जाँच र रोग रोकथाममा सचेत हुन सबैलाई आग्रह गरेका हुन ।
विद्यार्थी महोत्सवमार्फत शिक्षा मात्र नभई स्वास्थ्य, समाजसेवा र मानवीय मूल्यमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य रहेको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।