चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. चन्द्र प्रकाश पाण्डे ‘स्वास्थ्यकर्मी सेवा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:06:47
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. चन्द्र प्रकाश पाण्डे ‘स्वास्थ्यकर्मी सेवा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. चन्द्र प्रकाश पाण्डे ‘स्वास्थ्यकर्मी सेवा सम्मान’बाट सम्मानित

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा डाक्टर सि. पि. अस्पताल, धनगढीका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा। चन्द्र प्रकाश पाण्डेलाई ‘चैतन्य स्वास्थ्यकर्मी सेवा सम्मान’ प्रदान गरिएको छ ।

    मानव स्वास्थ्यको संरक्षण, उपचार तथा सेवाको क्षेत्रमा दीर्घकालीन रूपमा पु¥याउनु भएको अमूल्य योगदान, बिरामीप्रति देखाउनु भएको सेवाभाव र निष्ठा तथा सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न निर्वाह गर्नु भएको उल्लेखनीय भूमिकाको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि नाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा डा। पाण्डेलाई सम्मान गरेका हुन् ।

    डा. पाण्डेले लामो समयदेखि सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई सहज, भरपर्दो र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । बिरामीप्रति सहानुभूति, जिम्मेवारी र मानवीय संवेदनाका साथ सेवा प्रदान गर्ने उनको कार्यशैली समाजका लागि प्रेरणादायी बनेको चैतन्य पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीले बताए ।

    सम्मान ग्रहण गर्दै डा. पाण्डेले आफूलाई प्राप्त सम्मानले अझ ठुलो जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै भविष्यमा पनि समाजको स्वास्थ्य सुधारका लागि निरन्तर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वस्थ समाज निर्माणका लागि स्वास्थ्य सचेतना, नियमित जाँच र समयमै उपचारको महत्वबारे र सहजकर्ता अन्जु कार्की सँगको डाक्टर बन्न सपना र सङ्घर्षबारेमा प्राज्ञिक बहसमा समेत सम्बोधन गरेका थिए ।

    विद्यार्थी महोत्सवमार्फत शिक्षा मात्र नभई स्वास्थ्य, समाजसेवा, उद्यमशीलता र प्रविधि क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा सेवाभाव र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्य रहेको र उहाँको सम्मानबाट विद्यार्थीलाई समेत प्रेरणा मिलोस् भनेर यो सम्मान गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।