चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जस्मिन झा ‘उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:18:37
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जस्मिन झा ‘उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जस्मिन झा ‘उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’बाट सम्मानित

    धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा शिक्षा, मनोविज्ञान तथा बाल विकासको क्षेत्रमा दीर्घकालीन रूपमा विशिष्ट योगदान पु¥याउँदै आउनु भएकी शैक्षिक तथा अन्तर्राष्ट्रिय मामिला प्रमुख डा. जस्मिन झालाई ‘चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’ प्रदान गरिएको छ ।

    शैक्षिक नेतृत्व, अन्तर्राष्ट्रियकरण शिक्षाको प्रवर्द्धन, शैक्षिक नवप्रवर्तन तथा गुणस्तर अभिवृद्धिका लागि निरन्तर समर्पित रहनु भएको योगदानको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । डा. झाले विद्यार्थीमैत्री शिक्षा प्रणाली, शिक्षक विकास कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि नाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा झालाई सम्मान गरेका हुन् ।

    विद्यार्थी महोत्सवमार्फत केवल प्रतिभा प्रदर्शन मात्र नभई शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य रहेको अध्यक्ष जोशीले बताए।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता र सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, समाजसेवा, प्रविधि र उद्यमशीलता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।