चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा योगाचार्य सुरेन्द्र ओझा ‘आध्यात्मिक चिन्तन तथा जीवन दर्शन सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:17:25
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा योगाचार्य सुरेन्द्र ओझा ‘आध्यात्मिक चिन्तन तथा जीवन दर्शन सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा योगाचार्य सुरेन्द्र ओझा ‘आध्यात्मिक चिन्तन तथा जीवन दर्शन सम्मान’बाट सम्मानित

    धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा योग, ध्यान तथा भगवद्गीताको जीवनोपयोगी दर्शनलाई आधुनिक जीवनसँग जोड्दै समाजलाई कर्म, कर्तव्य र चेतनाको मार्गमा मार्गदर्शन गर्दै आएका आध्यात्मिक चिन्तक योगाचार्य सुरेन्द्र ओझालाई ‘आध्यात्मिक चिन्तन तथा जीवन दर्शन सम्मान’ प्रदान गरिएको छ।

    Gita for Life अभियानमार्फत आध्यात्मिक चेतना, नैतिक मूल्य र सकारात्मक जीवन दर्शनको प्रसारमा अतुलनीय योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । ओझाले योग र ध्यानलाई केवल साधनाका रूपमा नभई जीवनशैलीका रूपमा अपनाउन प्रेरित गर्दै युवालाई अनुशासन, आत्मसंयम र विवेकपूर्ण निर्णयतर्फ उन्मुख गराउँदै आएका छन् ।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि नाथ योगी, चैतन्य पाठशालाका प्राचार्य र चैतन्य पाठशालाका अध्यक्षले समुहीक रूपमा सम्मान गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै योगाचार्य ओझाले आध्यात्मिकता जीवनबाट अलग विषय नभई दैनिक व्यवहारसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई कर्मयोग, सत्य र करुणाको मार्ग अवलम्बन गर्न आग्रह गरे। उनले भने, “आजको प्रतिस्पर्धी युगमा मानसिक सन्तुलन, आत्मविश्वास र नैतिक मूल्य नै दीर्घकालीन सफलताको आधार हुन्।”

    विद्यार्थी महोत्सवमार्फत शैक्षिक गतिविधिसँगै जीवन मूल्य, संस्कार र चेतनाको विकासलाई पनि प्राथमिकतामा राखिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । उनले आध्यात्मिक चिन्तकहरूलाई सम्मान गर्दा विद्यार्थीमा जीवनप्रति सकारात्मक दृष्टिकोण र सामाजिक उत्तरदायित्व विकास हुने विश्वास व्यक्त गरे।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता र सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, समाजसेवा, उद्यमशीलता, प्रविधि, संस्कृति तथा आध्यात्मिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।