चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा थारु समुदायका पहिलो पुरुष पाइलट मिलन चौधरी सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:17:26
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा थारु समुदायका पहिलो पुरुष पाइलट मिलन चौधरी सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा थारु समुदायका पहिलो पुरुष पाइलट मिलन चौधरी सम्मानित

    धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै थारु समुदायका पहिलो पुरुष पाइलट बन्न सफल मिलन चौधरीलाई ‘चैतन्य प्रेरणादायी युवा सम्मान’ प्रदान गरिएको छ।

    नेपाली उड्डयन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै युवाहरूलाई ठुलो सपना देख्न र निरन्तर मेहनतका साथ लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको योगदानको उच्च कदर स्वरूप उनलाई सम्मान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । चौधरीले अनुशासन, लगनशीलता र दृढ इच्छाशक्तिका माध्यमबाट सफलता हासिल गर्दै सुदूरपश्चिमका साथै देशभरका युवाका लागि उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई स्थापित गरेका छन्।

    महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणि नाथ योगी, चैतन्य पाठशालाका प्राचार्य र चैतन्य पाठशालाका अध्यक्षले सम्मान गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै पाइलट चौधरीले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी बढाएको अनुभूति भएको बताएका छन् । उनले अवसरको सदुपयोग, अनुशासन र आत्मविश्वास नै सफलताको आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि युवालाई प्रेरित गर्ने कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका हुन ।

    विद्यार्थी महोत्सवमार्फत समाजका प्रेरणादायी व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा आत्मविश्वास, लक्ष्यप्रतिको समर्पण र सकारात्मक सोच विकास गर्ने उद्देश्य रहेको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । यस्ता सम्मान कार्यक्रमले विद्यार्थीलाई जीवनमा सही मार्ग रोज्न सहयोग पुग्ने समेत उनको भनाइ रहेको थियो।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।