धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा शिक्षा क्षेत्रमा दीर्घकालीन समर्पण, शैक्षिक नेतृत्व तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका नास्ट एकेडेमी धनगढी, कैलालीका प्रबन्ध निर्देशक शिवहरि मुडभरिलाई ‘प्रेरक शैक्षिक नेतृत्व सम्मान’ प्रदान गरिएको छ।
महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट मुडभरिलाई मायाको चिनो र सम्मान–पत्र र प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा. चिन्तामणि नाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन ।
मुडभरिले लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै शैक्षिक नेतृत्व, व्यवस्थापन तथा शैक्षिक मार्गदर्शनमार्फत विद्यार्थी र शैक्षिक संस्थाको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । विशेष गरी गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र शिक्षक–विद्यार्थीबिच सकारात्मक सम्बन्ध विकासमा उहाँको योगदान प्रशंसनीय रहेकोमा आज उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
सम्मान ग्रहण गर्दै मुडभरिले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै भविष्यमा पनि शिक्षा क्षेत्रको सुदृढीकरणमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि व्यवहारिक शिक्षा, मूल्य–मान्यता र नेतृत्व क्षमताको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । चैतन्य पाठशालाले धनगढीमा छोटो समयमा शिक्षा र संस्कारलाई मूल मन्त्र बनाउँदै अगाडि बढ्दै गर्दा आफूलाई खुसी लागेको र पाठशालाले शिक्षा क्षेत्रमा थपेको आयामको आफूले खुलेर प्रशंसा गर्ने समेत उनले बताएका छन् ।
विद्यार्थी महोत्सवमार्फत केवल प्रतिस्पर्धा र मनोरञ्जन मात्र नभई समाजका लागि योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा प्रेरणा, अनुशासन र सकारात्मक सोच विकास गर्ने उद्देश्य रहेको चैतन्य पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश जोशीले बताएका छन् ।
उनले दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका र महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि, सृजनशीलता विकास र सकारात्मक सामाजिक चेतना निर्माण गर्नु रहेको बताएका हुन् ।