चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जोरा ‘चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 21:18:38
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जोरा ‘चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डा. जोरा ‘चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान’बाट सम्मानित

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा. मानबहादुर जोरा लाई “चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान” प्रदान गरिएको छ । शिक्षा सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउँदै गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धनमा निरन्तर योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट डा. जोरा लाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा. चिन्तामणि नाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन ।

    डा. जोरा सुदूरपश्चिममै रहेर लामो समयदेखि शिक्षण, अनुसन्धान तथा शैक्षिक मार्गदर्शनमा सक्रिय रहँदै विद्यार्थीहरूको बौद्धिक, नैतिक तथा व्यवहारिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कक्षाकोठाभित्र मात्र सीमित नरही अनुसन्धान, परामर्श तथा जीवनोपयोगी मार्गदर्शनमार्फत विद्यार्थीलाई जिम्मेवार र सक्षम नागरिक बनाउने प्रयास उनको विशेष पहिचान बनेको छ ।

    सम्मान ग्रहण गर्दै डा. जोराले “शिक्षा भनेको केवल पाठ्यक्रम पूरा गर्नु मात्र होइन, यो सोच, चरित्र र जिम्मेवारी निर्माण गर्ने प्रक्रिया भएको र हामीले विद्यार्थीलाई सही मार्गदर्शन दिन सक्यौँ भने समाज स्वतः रूपान्तरणतर्फ जाने बताए ।”

    उनले सुदूरपश्चिमजस्तो क्षेत्रमा उच्च शिक्षाको पहुँच, गुणस्तर र अनुसन्धानको संस्कृतिलाई अझ सुदृढ बनाउन सबै सरोकार बालाबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै युवा पुस्तालाई अध्ययन र नवप्रवर्तनतर्फ केन्द्रित हुन आग्रह गरे।

    विद्यालयदेखि क्याम्पस तहसम्म शिक्षामा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्नु विद्यार्थीमा शिक्षा प्रतिको सम्मान र प्रेरणा बढाउने महत्त्वपूर्ण माध्यम भएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

    आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, अनुसन्धान, सामाजिक सेवा, प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।