चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा उग्रतारा सप्लायर्सका पनेरु ‘उत्कृष्ट प्राविधिक सेवा सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 22:33:43
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा उग्रतारा सप्लायर्सका पनेरु ‘उत्कृष्ट प्राविधिक सेवा सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा उग्रतारा सप्लायर्सका पनेरु ‘उत्कृष्ट प्राविधिक सेवा सम्मान’बाट सम्मानित

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा उग्रतारा सप्लायर्स, धनगढी (कैलाली) का सञ्चालक टेक राज पनेरुलाई “उत्कृष्ट प्राविधिक सेवा सम्मान” प्रदान गरिएको छ। प्राविधिक सामग्री आपूर्ति तथा सामान्य आवश्यकताका सामग्री उपलब्ध गराउने क्षेत्रमा निष्ठा, पारदर्शिता र व्यावसायिक जिम्मेवारी प्रदर्शन गर्दै शिक्षण, व्यवसाय तथा समाजको विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट पनेरुलाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा. चिन्तामणि नाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन ।

    पनेरुले लामो समयदेखि गुणस्तरीय प्राविधिक सामग्री तथा कार्यालय तथा शैक्षिक प्रयोजनका आवश्यक सामग्री समयमै र विश्वसनीय रूपमा उपलब्ध गराउँदै आएका छन् । शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान तथा समुदायको आवश्यकतालाई प्राथमिकतामा राखी सेवा प्रदान गर्ने उनको कार्यशैलीले स्थानीय बजारमा विश्वास र स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    सम्मान ग्रहण गर्दै पनेरुले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै आगामी दिनमा पनि इमानदारी, गुणस्तर र सेवामुखी भावनालाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले युवालाई व्यवसायमा प्रवेश गर्दा पारदर्शिता, अनुशासन र दीर्घकालीन सोच आवश्यक हुने उल्लेख गर्दै साना तर स्थिर कदमले नै ठुलो सफलता सम्भव हुने सन्देश दिएका छन् ।

    शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग पु¥याउने व्यवसायीलाई सम्मान गर्नु विद्यार्थीमा श्रम, सेवा र जिम्मेवारीको मूल्य बुझाउने महत्त्वपूर्ण अवसर भएको चैतन्य पाठशालाका निर्देशक कटक ब. सिंहले बताए । टेक राज पनेरुज्यूजस्ता व्यवसायीहरूले इमानदार व्यवसायको उदाहरण प्रस्तुत गर्नुभएको समेत उनले बताए ।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, साहित्यिक कार्यक्रम तथा सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्।