चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा युवा उद्यमी सुधा कुँवर ‘चैतन्य प्रेरणादायी युवा उद्यमी सम्मान’बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 22:35:19
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा युवा उद्यमी सुधा कुँवर ‘चैतन्य प्रेरणादायी युवा उद्यमी सम्मान’बाट सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा युवा उद्यमी सुधा कुँवर ‘चैतन्य प्रेरणादायी युवा उद्यमी सम्मान’बाट सम्मानित

    धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिमकी युवा उद्यमी सुधा कुँवरलाई “चैतन्य प्रेरणादायी युवा उद्यमी सम्मान” प्रदान गरिएको छ । सुदूरपश्चिमको माटोमै रहँदै उद्यमशीलता, आत्मनिर्भरता र नवप्रवर्तनमार्फत युवापुस्तालाई आत्मविश्वास र सकारात्मक सोचतर्फ प्रेरित गर्न पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    हिजो तेस्रो दिन महोत्सवको विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र सहित कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. टी एन जोशीले सम्मान पत्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

    सुधा कुँवरले सीमित स्रोत–साधनका बाबजुद निरन्तर सङ्घर्ष, नेतृत्व क्षमता र परिवर्तनशील सोचका माध्यमबाट आफ्नै प्रदेशमा उद्यम सुरु गर्दै आत्मनिर्भर बन्ने मार्ग रोजेकी छन्। साथै उनले आफ्नो यात्रामार्फत अन्य युवालाई पनि कर्मशील, आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न प्रेरित गर्दै आएकी छन्, जुन समाजका लागि उदाहरणीय बनेको आयोजकले जनाएको छ।

    विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सीप, नेतृत्व क्षमता र उद्यमशील सोचतर्फ अग्रसर गराउने उद्देश्यले यस्ता प्रेरणादायी व्यक्तित्वलाई सम्मान गरिँदै आएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । “विद्यार्थीले आफ्नै समाजका सफल युवाबाट प्रेरणा लिन सकुन् भन्ने हाम्रो उद्देश्य हो,” प्राचार्य ओझाले भने।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, उद्यमशीलता प्रस्तुति तथा विभिन्न प्रतिभा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, आत्मनिर्भर सोचको विकास र समाजप्रतिको जिम्मेवारी भावना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, उद्यम, प्रविधि, साहित्य र सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।