धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिम प्रदेश खोज तथा अनुसन्धान विभागका अध्यक्ष दिपेन्द्र जोशीलाई “नव प्रवर्तक खोज तथा अनुसन्धान युवा सम्मान” प्रदान गरिएको छ। सूचना प्रविधि तथा रोबोटिक्सको क्षेत्रमा विकास, अनुसन्धान र प्रवद्र्धनमार्फत सुदूरपश्चिममै प्रविधिमैत्री वातावरण निर्माण गर्न पु¥याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
महोत्सवको विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र सहित कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. टी एन जोशीले सम्मान पत्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए ।
जोशीले नवप्रवर्तनको युगमा सुदूरपश्चिम प्रदेशमै सूचना प्रविधि र रोबोटिक्ससम्बन्धी अनुसन्धान, तालिम र परियोजनाहरू सञ्चालन गर्दै युवालाई प्रविधिमैत्री सोचतर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। विशेषतः खोज, अनुसन्धान र प्रयोगात्मक सिकाइमार्फत युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको आयोजकले जनाएको छ।
सम्मान ग्रहण गर्दै जोशीले आफूलाई प्राप्त सम्मानले अझ ठुलो जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै भविष्यमा पनि सुदूरपश्चिमका युवालाई प्रविधि, अनुसन्धान र नवप्रवर्तनतर्फ अग्रसर गराउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “आजको युगमा प्रविधि केवल सुविधा मात्र होइन, रोजगारी र विकासको प्रमुख आधार हो। यदि हामीले स्थानीय स्तरमै अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सक्यौँ भने युवालाई बाहिर जानुपर्ने बाध्यता कम गर्न सकिन्छ।”
उनले विद्यार्थीहरूलाई सानैदेखि खोज्ने बानी, प्रयोग गर्ने साहस र नयाँ सोच विकास गर्न आग्रह गर्दै विद्यालय तहबाटै प्रविधिमैत्री शिक्षा आवश्यक रहेको उल्लेख गरे। “आजको विद्यार्थी नै भोलिको वैज्ञानिक, अभियन्ता र आविष्कारक हो। त्यसैले विद्यालयले जिज्ञासा र प्रयोगलाई प्रोत्साहन गर्ने वातावरण बनाउनु अत्यन्त जरुरी छ,” उनले बताए।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विज्ञान, प्रविधि, अनुसन्धान र सृजनशील सोचतर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता व्यक्तित्वलाई सम्मान गर्ने परम्परा सुरु गरिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए । उनले “विद्यार्थीले आफ्नै प्रदेशमा बसेर पनि प्रविधि र अनुसन्धानमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” उल्लेख गरे।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक, विज्ञान प्रदर्शनी, रोबोटिक्स प्रस्तुति तथा विभिन्न प्रतिभा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, परिवर्तनशील सोचको विकास, पठन संस्कृतिको प्रवद्र्धन तथा आत्मनिर्भर भविष्यतर्फ उन्मुख गराउनु रहेको आयोजकले जनाएको छ।