चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा केएमसीका पूर्व स्ववियु सभापति यमराज जोशी सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 23:07:10
  • सोमबार,बैशाख १४, २०८३
  • चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा केएमसीका पूर्व स्ववियु सभापति यमराज जोशी सम्मानित

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा केएमसीका पूर्व स्ववियु सभापति यमराज जोशी सम्मानित

    धनगढी– चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति यमराज जोशीलाई विशेष सम्मान प्रदान गरिएको छ। विद्यार्थीहरूको हकहित, संरक्षण, शैक्षिक वातावरण सुदृढीकरण तथा नेतृत्व विकासमा उनले निर्वाह गरेको जिम्मेवार भूमिका, सक्रियता र समर्पित सेवाको उच्च कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    महोत्सवको विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, सहित कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. टी एन जोशीले सम्मान पत्र र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए । जोशीले स्ववियु सभापतिका रूपमा रहँदा विद्यार्थीका समस्यालाई प्राथमिकतामा राख्दै शैक्षिक अधिकारको संरक्षण, शैक्षिक गतिविधिमा सक्रिय सहभागिता, क्याम्पस प्रशासनसँग सहकार्य तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनका यी प्रयासले विद्यार्थीको शैक्षिक विकास सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगेको भन्दै चैतन्य पाठशालाले उनलाई सम्मानमार्फत कदर गरेको जनाएको छ।

    सम्मान ग्रहण गर्दै यमराज जोशीले आफूलाई प्राप्त सम्मानले अझ बढी जिम्मेवारी बोध गराएको बताउँदै विद्यार्थीको हकहितका लागि सधैँ आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “विद्यार्थी नेतृत्व भनेको केवल पदमा रहनु होइन, विद्यार्थीको समस्या बुझेर समाधानतर्फ पहल गर्नु हो। मैले गरेको कामलाई सम्झेर सम्मान गरिएकोमा म अत्यन्तै आभारी छु।”

    उनले विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास गर्न, सहकार्यको भावना बढाउन र समाजप्रति उत्तरदायी बन्न आग्रह गर्दै पढाइसँगै सामाजिक गतिविधिमा पनि सक्रिय हुनुपर्ने बताएका छन् । “आजको विद्यार्थी नै भोलिको राष्ट्रनिर्माता हो, त्यसैले अहिलेबाटै अनुशासन, जिम्मेवारी र सेवाभाव विकास गर्नु अत्यन्त आवश्यक छ,” उनले उल्लेख गरे।

    विद्यार्थीलाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी सामाजिक चेतना, नेतृत्व क्षमता र जिम्मेवारीको भाव विकास गराउने उद्देश्यले यस्ता व्यक्तित्वलाई सम्मान गर्ने परम्परा सुरु गरिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए। साथै उनले भने “विद्यार्थीले आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउने पात्रबाट प्रत्यक्ष प्रेरणा लिन सकुन् भन्ने उद्देश्यले हामीले यस्ता सम्मान कार्यक्रमलाई महोत्सवको महत्त्वपूर्ण अङ्ग बनाएका हौँ,”।

    चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत विभिन्न शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक तथा प्रतिभा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, पठन संस्कृतिको प्रवद्र्धन, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व क्षमताको विकास गर्नु रहेको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।