धनगढी- धनगढी शिवनगरमा रहेको चैतन्य पाठशालामा चैतन्य दोस्रो विद्यार्थी महोत्सव पौष २२गते देखि सञ्चालन भइरहेको छ । जसमा हरेक दिन फरक फरक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
हिजो कार्यक्रमको दोस्रो दिनमा प्रमुख अतिथिको रूपमा उपस्थित सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काले खेल सप्ताहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चैतन्य पाठशालाले सुदूरपश्चिम प्रदेशमै नमुना शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान बनाइसकेको बताइन उनले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र विद्यार्थीमैत्री वातावरणको खुलेर प्रशंसा गरिन् । उनले चैतन्य पाठशालाले शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै यसले दीर्घकालीन रूपमा समाजलाई सक्षम जनशक्ति प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, “आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा विद्यार्थीलाई केवल परीक्षा पास गराउने उद्देश्यले पढाइ सीमित राख्नु पर्याप्त हुँदैन। किताबको पानाभित्रको ज्ञानसँगै व्यवहारिक सीप, सृजनशील सोच, समस्या समाधान गर्ने क्षमता, आत्मविश्वास र नैतिक मूल्य विकास गर्नु आजको शिक्षाको मुख्य उद्देश्य हुनुपर्छ । विद्यार्थीको रुचि, क्षमता र प्रतिभाअनुसारको अवसर र मार्गदर्शन दिन सकियो भने उसले रोजेको क्षेत्रमा सफल भएर समाज र देशका लागि योगदान दिन सक्छ।”
राज्यमन्त्री खड्काले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउँदै खेल सप्ताहजस्ता कार्यक्रमले विद्यार्थीको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन र सामाजिक व्यवहार विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। “खेलकुदले टोलीमा काम गर्ने भावना, प्रतिस्पर्धालाई सकारात्मक रूपमा स्वीकार गर्ने संस्कार, हारलाई सिकाइको अवसरका रूपमा लिन सक्ने क्षमता र जितलाई जिम्मेवारीका साथ स्वीकार गर्ने व्यवहार सिकाउँछ, जुन जीवनका हरेक क्षेत्रमा आवश्यक हुन्छ,” भनिन्।
उनले चैतन्य पाठशालाले शिक्षा, संस्कार र सीप विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै विद्यार्थीभित्र रहेको अन्तर्निहित प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने वातावरण तयार गरेको भन्दै यसप्रति आफू नतमस्तक रहेको बताइन्। “धेरै विद्यार्थीभित्र असाधारण क्षमता हुन्छ, तर सही समयमा पहिचान र प्रोत्साहन नपाउँदा त्यो क्षमता दबिएर जान्छ। चैतन्य पाठशालाले विद्यार्थीको प्रतिभा चिन्न र त्यसलाई सही दिशामा अघि बढाउन गरेको प्रयास अत्यन्तै सराहनीय छ,” उनले उल्लेख गरिन्।
उनले शिक्षकको भूमिकालाई समाज निर्माणको आधार स्तम्भका रूपमा चित्रण गर्दै शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति नभई विद्यार्थीको जीवन मार्गदर्शक भएको बताइन्। “शिक्षकले विद्यार्थीलाई ज्ञान मात्र होइन, सही सोच, नैतिकता र जिम्मेवारीको बोध पनि दिनुपर्छ। जब शिक्षक, विद्यालय र अभिभावक एउटै लक्ष्यका साथ अघि बढ्छन्, तब मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ,” उनले जोड दिइन्।
राज्यमन्त्री खड्काले प्रदेश सरकारले शिक्षा, खेलकुद र युवा सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा विद्यालय स्तरमै सीपमूलक, प्रविधिमैत्री र खेलकुदमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्। उनले विद्यालयहरूलाई शैक्षिक केन्द्र मात्र नभई प्रतिभा उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको पनि बताइन्।
अन्त्यमा उनले खेल सप्ताह सफलतापूर्वक सम्पन्नताको शुभकामना व्यक्त गर्दै यस्ता सिर्जनात्मक, प्रतिस्पर्धात्मक र विद्यार्थीमैत्री कार्यक्रमलाई निरन्तरता दिन विद्यालय प्रशासनलाई आग्रह गरिन्। साथै उनले विद्यार्थीलाई पढाइसँगै खेल, संस्कृति र सृजनशील गतिविधिमा पनि सक्रिय रूपमा सहभागी हुन प्रेरित गर्दै “आजको मेहनत नै भोलिको सफलताको आधार हो” भन्ने सन्देश दिइन्। साथै चैतन्य पाठशालालाई सामाजिक विकास मन्त्रालय र आफ्नो सक्दो सहयोग सदैव गर्न तयार रहेको समेत बताइन ।