सुदूरपश्चिममा शपथ ग्रहणको तयारी पूरा, ६ जनाले मातृभाषामा लिने - Chaitanya News
  • 2026-05-07
  • 13:20:37
  • बिहिबार,बैशाख २४, २०८३
  • सुदूरपश्चिममा शपथ ग्रहणको तयारी पूरा, ६ जनाले मातृभाषामा लिने

    सुदूरपश्चिममा शपथ ग्रहणको तयारी पूरा, ६ जनाले मातृभाषामा लिने

    काठमाडौं-  पुस १५ गते हुने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ । प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सचिवालय व्यवस्थापनलगायत सम्पूर्ण तयारी पुरा भएको हो ।

    प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सबै व्यवस्थापकीय तयारी पुरा भएको बताउँदै भोलि निर्धारित समयमा शपथ ग्रहण हुने जानकारी दिए । शपथ ग्रहणको समय दिउँसो १ः३५ मा तय गरिएको छ ।

    प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि रावलले बाँकी ५२ जनालाई शपथ ग्रहण गराउने छन् । यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन् ।

    नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कैलाश चौधरी, क्षेत्र न. १ (२) का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (२) का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (१) का घनश्याम चौधरी र क्षेत्र नं. ३ (२) का खुसीराम डगौरा थारूले थारु भाषामा शपथ लिने छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिने भएकी हुन् । उनी कञ्चनपुरकी हुन् ।

    यसैबीच प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको कार्य पनि पुरा गरेको छ । नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ ।

    सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा नेकपा एमालेको दलको कार्यालय बनाइएको छ ।

    विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा माओवादी केन्द्रको कार्यालय बनाइएको छ, भने सार्वजनिक लेखा समितिको कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाइएको छ ।

    १ जना मात्रै प्रदेश सभा सदस्य रहेको राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको लागि भने व्यवस्थापन गर्न बाँकी रहेको सचिवालयले जनाएको छ ।