धनगढी- आजको प्रतिस्पर्धी र तीव्र परिवर्तनशील विश्वमा शिक्षा केवल पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्रमा सीमित रहनु हुँदैन भन्ने मान्यतालाई व्यवहारमा उतार्दै आएको चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ आयोजना गर्ने भएको छ । विद्यालय परिसरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको औपचारिक घोषणा गरिएको हो ।
“ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भावसहित आयोजना हुन लागेको यो महोत्सव आगामी पौष २२ गतेदेखि पौष २९ गतेसम्म एक सातासम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार यो महोत्सव केवल कार्यक्रमहरूको शृङ्खला नभई विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखिएको दीर्घकालीन शैक्षिक अभियानको एउटा महत्त्वपूर्ण कडी हो।
पत्रकार सम्मेलनमा बोल्दै चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले आजको शिक्षा प्रणालीले सामना गरिरहेको मुख्य चुनौती सैद्धान्तिक ज्ञान र व्यवहारिक जीवनबिचको दूरी भएको बताए। “विद्यार्थीहरू धेरै कुरा पढ्छन्, तर जीवनमा प्रयोग गर्ने अवसर कम पाउँछन्। हामी यही दूरी घटाउन चाहन्छौँ,” उनले भने। उनका अनुसार चैतन्य पाठशालाले स्थापना कालदेखि नै वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिप्रतिको सम्मान, आधुनिक प्रविधिको प्रयोग र नैतिक मूल्यलाई शैक्षिक अभ्याससँग जोड्दै आएको छ। यही दर्शनलाई व्यवहारिक र अनुभवमूलक रूपमा प्रस्तुत गर्ने उद्देश्यले विद्यार्थी महोत्सव आयोजना गरिएको हो।
प्रधानाध्यापक ओझाले कक्षाकोठाभन्दा बाहिर सिकाइ हुने अनुभव विद्यार्थीका लागि अझ दीर्घकालीन र प्रभावकारी हुने उल्लेख गरे। उनले भने “विद्यार्थीले प्रश्न गर्न, गल्ती गर्न, सुधार गर्न र प्रस्तुत हुन पाउनुपर्छ। महोत्सव त्यही खुला प्लेटफर्म हो,”।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ विद्यार्थीभित्र लुकेका बहु आयामिक प्रतिभा उजागर गर्ने साझा मञ्चका रूपमा तयार गरिएको चैतन्य पाठशालाका निर्देशक कटक ब। सिंहले बताए छ। उनका अनुसार महोत्सवमा शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, साहित्यिक, सामाजिक तथा सिर्जनात्मक गतिविधिहरूलाई समान महत्त्व दिइएको छ। महोत्सव अवधिभर विद्यार्थीहरूले आफूभित्र रहेको सोच, सीप र सृजनशीलता खुला रूपमा प्रस्तुत गर्ने अवसर पाउने र विज्ञान, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित कार्यक्रमदेखि लिएर कला, साहित्य र संस्कृतिसम्मका विविध आयाम समेटिने निर्देशक सिंहको भनाई रहेको छ ।
आजको युग विज्ञान र प्रविधिबिना कल्पना गर्न नसकिने युग भएको र । यही यथार्थलाई आत्मसात् गर्दै महोत्सवमा विज्ञान र प्रविधि आधारित कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशीले बताए । विद्यार्थीहरूले आफैँ डिजाइन र निर्माण गरेका परियोजनामार्फत प्लेन उडान परीक्षण, ड्रोन उडान प्रदर्शन, विज्ञान प्रदर्शनी तथा प्रयोगात्मक अभ्यास प्रस्तुत गर्ने सिइओ जोशीले बताए ।
यस्ता गतिविधिले विद्यार्थीमा समस्या समाधान क्षमता, आलोचनात्मक सोच र नव(प्रवर्तनशील मानसिकता विकास गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार सानो उमेरदेखि नै वैज्ञानिक सोच विकास हुनु भविष्यका लागि अत्यन्त आवश्यक छ। महोत्सवमा नाटक मञ्चन, वक्तृत्वकला, प्राज्ञिक बहस तथा अन्तर–विद्यालय प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। यी कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सीप विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
विशेष गरी विद्यार्थी बहस कार्यक्रममार्फत सामाजिक, शैक्षिक र समसामयिक विषयमा विचार राख्ने, तर्क गर्ने र अरूको विचार सुन्ने संस्कार विकास गरिनेछ। यसले लोकतान्त्रिक मूल्य र सहिष्णुता विकासमा पनि योगदान पु¥याउने विद्यालयको धारणा छ।
योग, ध्यान र जीवनोपयोगी सिकाइ
आजको तनावपूर्ण जीवनशैलीमा मानसिक सन्तुलन र आत्म अनुशासन अत्यन्त आवश्यक छ। यही सोचका साथ महोत्सवमा योग तथा ध्यान कार्यक्रमलाई पनि समावेश गरिएको छ। विद्यार्थीलाई शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको महत्त्व बुझाउने उद्देश्यले आयोजना गरिने यी कार्यक्रमले ध्यान, अनुशासन र आत्म चिन्तनको संस्कार विकास गर्ने अपेक्षा गरिएको पाठशाला परिवारले बताएको छ । यसका साथै रमाइला शैक्षिक खेलहरू मार्फत सिकाइलाई रोचक र प्रभावकारी बनाउने प्रयास गरिएको छ।
समाजसँग जोडिने प्रयास
महोत्सवलाई विद्यालयको चारदिवारभित्र मात्र सीमित नराखी समाजसँग जोड्ने उद्देश्यले सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछन्। यस्ता कार्यक्रमले विद्यार्थीमा सेवा भाव, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पु¥याउनेछ। “शिक्षा समाजका लागि हो, समाजबाट टाढा रहेर शिक्षा अधुरो हुन्छ,” भन्नै भनाई चैतन्य पाठशालाको रहेको सिइओ जोशीले बताए ।
स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन
महोत्सवमा स्थानीय परिकार प्रदर्शनी पनि आयोजना गरिनेछ। यसले स्थानीय उत्पादन, संस्कृति र पहिचानको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीलाई आफ्नै समाजप्रति गर्व गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। विशेष गरी सुदूरपश्चिम क्षेत्रका मौलिक परिकार, कला र संस्कृतिलाई प्राथमिकतामा राखिने समेत पाठशालाले जनाएको छ ।
कला, साहित्य र संस्कृतिको उत्सव
कला, साहित्य र संस्कृतिलाई विशेष महत्त्व दिइएको यस महोत्सवमा पुस्तक समीक्षा, कविता तथा कथा वाचन, चित्रकला र हस्तकला प्रतियोगिता, मौलिक सांस्कृतिक प्रस्तुति तथा माघी मिलन विशेष कार्यक्रम समावेश गरिनेछन्। यी कार्यक्रमले विद्यार्थीको भावनात्मक अभिव्यक्ति, कल्पना शक्ति र सौन्दर्य बोध विकास गर्न मद्दत गर्ने विश्वास विद्यालयले लिएको छ। विशेष गरी माघी मिलन कार्यक्रममार्फत थारु समुदायसहित सुदूरपश्चिमको विविध संस्कृतिको सम्मान र प्रवर्द्धन गरिनेछ।
महोत्सवका उद्देश्यहरू
विद्यालयका अनुसार महोत्सवका प्रमुख उद्देश्यहरू विद्यार्थीको प्रतिभाको पहिचान र विकास, बौद्धिक तथा सृजनात्मक सीप अभिवृद्धि, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सुदृढीकरण, संस्कार र नैतिक शिक्षालाई व्यवहारिक जीवनसँग जोड्नु, भाषा–संस्कृतिको संरक्षण, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास, उद्यमशील सोच प्रवर्द्धन तथा समस्या समाधान क्षमताको विस्तार रहने प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
दीर्घकालीन प्रभावको अपेक्षा
महोत्सवबाट विद्यार्थीमा आत्म अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना बलियो हुने, सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त हुने तथा विद्यालय, अभिभावक र समुदायबिच दीर्घकालीन सहकार्यको आधार निर्माण हुने विश्वास लिइएको छ। यसले विद्यार्थीलाई केवल आजका लागि होइन, भोलिका जिम्मेवार नागरिकका रूपमा तयार पार्ने विद्यालयको लक्ष्य रहेको छ।
कार्यक्रमको समापनमा बोल्दै पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले महोत्सवलाई विद्यार्थी–केन्द्रित, संस्कारयुक्त र नवप्रवर्तनमुखी शैक्षिक अभियानका रूपमा सफल बनाउन अभिभावक, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी र सम्पूर्ण समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् । उनले महोत्सवमार्फत शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवन निर्माणको आधार बन्न सक्छ भन्ने सन्देश समाजमा प्रवाह गर्ने चैतन्य पाठशालाको लक्ष्य रहेको बताए। उनका अनुसार चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ शिक्षा, संस्कार, प्रविधि र संस्कृतिलाई एउटै सूत्रमा बाँध्दै भावी पुस्तालाई जिम्मेवार, सक्षम र मूल्य वान नागरिक बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो।