केन्द्रीय सदस्यहरूलाई गगन र विश्वले भने: पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दैन - Chaitanya News
  • 2026-05-06
  • 20:11:32
  • बुधबार,बैशाख २३, २०८३
  • केन्द्रीय सदस्यहरूलाई गगन र विश्वले भने: पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दैन

    केन्द्रीय सदस्यहरूलाई गगन र विश्वले भने: पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दैन

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन्। बिहान आफूहरूलाई भेट्न पुगेका ३० केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् भन्ने रहेको बताएका हुन्।

    केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा।डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए।

    त्यो भेटमा सहभागी केन्द्रीय सदस्य शेर्पाले महामन्त्रीहरूले पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्ने तयारीमा आफूहरू नरहेको बताएको जानकारी दिए। ‘हामी सँगैको समन्वयमा साथीहरूले विशेष महाधिवेशनको तयारी गरिरहनु भएको छ। त्यसमा राजनीतिक प्रस्तावहरू पेस होलान्। त्यसको तयारी सुरु भएको छ,’ भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले रातोपाटीसँग भने, ‘पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व घोषणा हुन्न। तपाईंहरू ढुक्क हुनुस्। हामी पनि पार्टी एक रहोस् भन्ने चाहन्छौँ। त्यसका लागि प्रयास हुन्छ।’

    भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए। ‘महामन्त्रीज्यूले समन्वय भएन। गुटभित्र मात्र छलफल गरेर निर्णय गरियो। भन्दाभन्दै पनि सुनुवाइ भएन भन्नुभयो,’ केन्द्रीय सदस्य शेर्पाले भने।

    मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गरिदिएका छन्। त्यसपछि कांग्रेसका महाधिवेशन विवाद चर्किएको छ। त्यो विवादलाई मत्थर पार्न केन्द्रीय सदस्यहरूले दुवै पक्षका नेताहरूलाई भेटेका हुन्।

    महामन्त्रीद्वयलाई भेट्नुअघि ती केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई उनकै निवास महाराजगन्जमा भेटेका थिए। भेटमा सभापति देउवाले आफू पार्टी विभाजनको पक्षमा नरहेको र देखिएको विवाद समाधानका लागि प्रयास गरिरहेको बताएका शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार सभापति देउवाले विशेष महाधिवेशनले निकास ननिकाल्ने बताएका थिए।