गृहको पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, अरू कति नम्बरमा छन् हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 05:16:23
  • सोमबार,बैशाख १४, २०८३
  • गृहको पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, अरू कति नम्बरमा छन् हेर्नुहोस् सूची

    गृहको पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, अरू कति नम्बरमा छन् हेर्नुहोस् सूची

    काठमाडौँ– गृह मन्त्रालयको चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो भएको छ।

    पहिलो त्रैमासिकको २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त पहिलो भएको हो। मनाङमा उपसचिव नवराज पौड्याल प्रमुख जिल्ला अधिकारी छन्।

    ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये दोस्रो स्थानमा जिल्ला प्रशासन कार्यालय ललितपुर देखिएको छ। ललितपुरले सोही पुर्णाङ्कमा २८.२५ नम्बर पाएको छ। ललितपुरमा प्रमुख जिल्ला अधिकारी सहसचिव प्रेमप्रसाद भट्टराई छन्।

    तेस्रोमा जिल्ला प्रशासन कार्यालय धनकुटा परेको छ। धनकुटाले सोही पुर्णाङ्कमा २८.५ अंक पाएको छ। धनकुटामा सहसचिव विनोदकुमार खड्का प्रमुख जिल्ला अधिकारी छन्।

    गृहले जिल्लाहरूलाई तीन वर्गमा छुट्याएको छ। मनाङ ग वर्गमा थियो। ललितपुर क वर्ग र धनकुटा ख वर्गको जिल्लामा वर्गीकरण गरिएको छ।

    उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी पौड्‍याल इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख थिए। अस्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिष्ट पौड्याल खुल्लाबाट उपसचिव बनेका थिए। उनी भदौ ४ गते मनाङमा हाजिर भएका थिए।

    जिल्ला प्रशासन कार्यालय धनकुटामा खड्का प्रमुख जिल्ला अधिकारीका रूपमा गत कात्तिक १७ गतेदेखि कार्यरत छन्। ललितपुरमा भट्टराई कात्तिक १२ गतेबाट जिम्मेवारी सम्हालेका थिए।

    गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यही कार्यसम्पादन मूल्याङ्कनका आधारमा अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाउने नपठाउने पनि तय गर्छ।