सङ्घर्षले बनाएको उज्यालो घर–राजु सिंहको सङ्घर्ष, सपना र आत्मनिर्भरताको कथा - Chaitanya News
  • 2026-04-28
  • 08:35:02
  • मंगलबार,बैशाख १५, २०८३
  • सङ्घर्षले बनाएको उज्यालो घर–राजु सिंहको सङ्घर्ष, सपना र आत्मनिर्भरताको कथा

    सङ्घर्षले बनाएको उज्यालो घर–राजु सिंहको सङ्घर्ष, सपना र आत्मनिर्भरताको कथा

    शान्ति प्रसाद जोशी,बैतडी- जिल्लाको डिलासैनी गाउँपालिका–गोकुलेश्वर सुदूर पहाडी भूगोल, सीमित अवसर र दैनिक सङ्घर्षले भरिएको यो ठाउँमा जन्मिएका युवक राजु सिंह आज धेरैका लागि प्रेरणाको नाम बनेका छन् । फरक सोच, कठोर परिश्रम र नझुक्ने आत्मविश्वासले उनले जीवनलाई नयाँ अर्थ दिएका छन्।

    राजुको जन्म एक निम्न वर्गीय परिवारमा भएको थियो । उनका बाल्यकालका दिनहरू खेलकुद, रमाइलो र लाड प्यारले होइन, अभाव, पीडा र जिम्मेवारीले भरिएका थिए। उमेर सानै थियो, तर काँधमा परिवारको चिन्ता भारी थियो। उनका लागि बाल्यकाल भनेको डुङ्गा, बालुवा र गिट्टीसँगै बितेको समय थियो। पढाइ गर्न मन त थियो, तर किताबभन्दा पहिला पेटको समस्या समाधान गर्नुपर्ने बाध्यता थियो।

    राजु भन्छन् “सानो छँदा पढ्ने सपना देख्थेँ, तर सपना देख्नु र त्यसलाई पूरा गर्नुबिच ठुलो खाडल थियो।” न त सही समयमा आफूले चाहेको शिक्षा लिन पाए, न त मार्ग देखाउने सल्लाह दिने कोही थिए। जीवनले उनलाई चाँडै परिपक्व बनाइदियो।
    अत्यन्तै कठिन परिस्थितिका बिच पनि उनले हार मानेनन्। जसो–तसो सङ्घर्ष गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गर्न सफल भए। त्यो उपलब्धि उनका लागि ठुलो जित थियो। तर त्यसभन्दा अगाडिको बाटो झन् कठिन देखिन्थ्यो। ११ र १२ कक्षा पढ्ने चाहना थियो, तर घरको आर्थिक अवस्था अत्यन्त कमजोर थियो। आमाबुवाको कमाइ शून्यजस्तै थियो। बुढेसकालमा पुगेका आमाबुवाको एक मात्र सहारा राजु नै थिए।

    यही बाध्यताले उनलाई छिमेकी देश भारत जाने सोचतर्फ धकेल्यो। “पढाइ छोडेर कमाउन जानुपर्छ भन्ने सोचले रातभर निद्रा लाग्दैनथ्यो,” उनी सम्झिन्छन्।
    आमाबुवाको कमजोर अवस्था देख्दा एक्लै कोठामा बसेर रुने दिनहरू धेरै थिए। तर घर खर्च चलाउनुपर्ने बाध्यताले उनी निर्णयको मोडमा पुगिसकेका थिए। आमाबुवालाई सम्झाउँदै, “म पैसा पठाउँछु, केही गरेर देखाउँछु,” भनेर हौसला दिने प्रयास गर्थे, तर मनभित्र ठुलो द्वन्द्व चलिरहेको थियो।
    त्यही समय, जीवनमा एउटा अनपेक्षित उज्यालो प्रवेश ग¥यो। छिमेकी दाइ रामनाथ नाथ जो धेरै वर्षअघि लन्डन गएका थिए विदेशबाट फर्किएर गाउँ आएका थिए। बाटोमा भएको सामान्य भेटले राजुको जीवनको दिशा नै परिवर्तन गरिदियो। दाइले राजुको कथा सुन्नुभयो, पीडा बुझ्नुभयो र उनका सपनालाई मर्न दिनुभएन।
    राम दाइले राजुको ११ र १२ पढ्ने जिम्मा लिनुभयो। कापी–कलमदेखि विद्यालय शुल्कसम्मको सहयोग पाएपछि राजुको आँखामा फेरि सपनाको चमक फर्कियो। उनले सेटी गाउँ माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ सुरु गरे। त्यो दिनदेखि राजुको जीवनमा नयाँ अध्याय सुरु भयो।
    राजु भन्छन् “जीवन कठिन भए पनि मैले श्रमलाई सम्मान गर्न सिकेँ,” पढाइसँगै उनले ‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोच विकसित गरे। बिहान विद्यालय, साँझ खेतबारी यस्तै दिनचर्या बन्यो। सानो तरकारी खेती सुरु गरे। सुरुमा थोरै थियो, जोखिम थियो, तर आत्मविश्वास बलियो थियो। पसिना बगाएपछि तरकारी राम्रो फल्न थाल्यो, बजार पनि पाउन थाले।

    बिस्तारै आम्दानी बढ्दै गयो । ऋणको बोझ हलुका हुँदै गयो। त्यही सकारात्मक अनुभवले २०७६ सालमा निग्लाशैनी कृषि फर्म स्थापना गर्ने हिम्मत आयो । गाउँमै बसेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण उनले आफैँ बनेर देखाए।

    तर सफलता सजिलै आएको थिएन। छिमेकीका घरमा बिजुली झलमल्ल बल्थ्यो, दसैँ–तिहारमा गाउँ झिलिमिली हुन्थ्यो। तर राजुको घर भने धेरै रात अन्धकारमै बित्थ्यो। कहिले निराशा आउँथ्यो, कहिले मन कमजोर हुन्थ्यो। तर उनले हार मानेनन्। जिम्मेवारी धेरै थियो, सपना अझै अधुरा थिए।

    अटुट मेहनत, धैर्य र आत्मविश्वासको फलस्वरूप २०८० सालमा उनले जीवनको अर्को ठुलो सपना पूरा गरे २२ वर्षकै उमेरमा आफ्नै घर निर्माण गरे। राजु भन्छन् “जसको कोही हुँदैन, उसको भगवान् हुन्छन् भन्ने कुरामा मैले विश्वास गरेँ”।
    आज उनका आमाबुवाको अनुहारमा सन्तोष छ, परिवारमा खुसी फर्किएको छ।
    अहिले राजु अग्र्यानिक तरकारी उत्पादन गर्दै आत्मनिर्भर जीवन बाँचिरहेका छन्। सामाजिक सञ्जाललाई उनले अवसरमा बदलेका छन्। टिकटक र फेसबुकमार्फत आफ्ना उत्पादनहरू प्रचार–प्रसार गर्छन्। त्यसबाट आउने कमेन्ट, सन्देश र अर्डरले उनलाई थप ऊर्जा दिन्छ।

    उनी भन्छन् “मानिसहरूले ‘मलाई पनि चाहियो’ भनेर सन्देश पठाउँदा सबै दुःख बिर्सिन्छु”। आज राजु सिंह केवल एक सफल कृषक मात्र होइनन्, उनी सङ्घर्षबाट नडराउने युवाहरूका लागि आशाको प्रतीक बनेका छन्।
    उनको कथाले भन्छ परिस्थिति जति कठिन भए पनि, मेहनत, सही साथ र सकारात्मक सोच भए उज्यालो भविष्य सम्भव छ।