रोल्पाका तीन स्थानीय तहमा आफ्नै प्रहरी - Chaitanya News
  • 2026-04-26
  • 06:08:08
  • आइतबार,बैशाख १३, २०८३
  • रोल्पाका तीन स्थानीय तहमा आफ्नै प्रहरी

    रोल्पाका तीन स्थानीय तहमा आफ्नै प्रहरी

    काठमाडौं- रोल्पाका तीन स्थानीय तहमा आफ्नै प्रहरी रहेका छन्। रोल्पा नगरपालिकासहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेको हो।

    रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ।

    माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ। उसले दुई महिलासहित सात जना प्रहरी भर्ना गरेको हो। गाउँ प्रहरीमा एक जना प्रहरी सहायक निरीक्षक र ६ प्रहरी जवान छन्।

    रोल्पा नगरपालिकाले नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीमा एक प्रहरी हबल्दार छन् भने नौ जना प्रहरी जवान रहेका छन्। ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममासमेत नगर प्रहरी परिचालन गरिने ती पालिकाले जनाएका छन्।

    नगर प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यू, विपद् व्यवस्थापन तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनाको तालिम सञ्चालन गरिएको थियो।

    प्रहरीलाई कार्यालय सञ्चालन, चेन अफ कमानलगायतका विषयमासमेत तालिम दिइएको थियो। राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरूलाई परिचालन गर्ने सोच स्थानीय तहको भनाइ छ।

    नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लट्टीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ। प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको जनाइएको छ। जिल्लामा एक नगरपालिकासहित दश स्थानीय तह छन्।