निर्वाचन आउन ६७ दिन मात्रै बाँकी: एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य - Chaitanya News
  • 2026-04-28
  • 08:33:56
  • मंगलबार,बैशाख १५, २०८३
  • निर्वाचन आउन ६७ दिन मात्रै बाँकी: एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

    निर्वाचन आउन ६७ दिन मात्रै बाँकी: एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

    काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने जनाएको छ। आज (आइतबार)आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो विवरणको जानकारी दिएको हो।

    सार्वजनिक अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

    प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ ।

    विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ। पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ।

    अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदाता स्थलमा २३ हजार ११२ मतदाता केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदान स्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ। कुल मतदान केन्द्रको सङ्ख्या आठ सय ८५ वृद्धि भएको छ।